
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यकोष तथा निजी क्षेत्रबाट तलब खानेहरुको तलबको २ प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्ने प्रश्ताव अघि सार्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो प्रश्ताव गर्नुभएको हो ।
मन्त्री पौडेलले राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले तलबको २ प्रतिशत रकम स्वास्थ्य बिमा कोषमा योगदान गर्ने प्रणालीको विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले नागरिकको आर्थिक हैसियतको आधारमा प्रगतिशील प्रिमियम लागू गर्न जरुरी रहेको समेत बताउनुभयो ।
मन्त्री पौडेलले गरिबीको रेखामुनि रहेका नागरिकको प्रिमियम सरकारले तिरेर स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले सामाजिक सुरक्षा कोषले बीमासम्बन्धी दायित्वलाई थेग्न नसकेको भन्दै यसको लागि अलग्गै कोष बनाउनुपर्ने बताउनुभयो ।
सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा जोडिने व्यवस्था गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्