९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


‘प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थाले विश्वविद्यालयहरु कसरी स्वायत्त र स्वतन्त्र हुन्छन् ?’


533
Shares

काठमाडौं । विश्वविद्यालयको कुलपतिमा खुला प्रतिष्पर्धाबाट प्राज्ञिक व्यक्ति चयन गर्र्नुपर्ने मा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार भएको छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

योग्यताका आधारमा विश्वविद्यालयको कुलपति चयन हुनुपर्ने उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विश्वविद्यालयको कुलपतिमा योग्यहरुमध्येबाट खुला प्रतिष्पर्धाको आधारमा चयन गर्ने कुरा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरुको प्राज्ञञहरुको कार्यकारी भुमिका प्रतिष्पर्धाको आधारमा दिन सकेमात्रै उच्च शिक्षालाई सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले एउटै प्रधानमन्त्रीले धेरैवटा विश्वविद्यालय हेर्न नसक्ने धारणा राख्नुभयो । उहाँले राजाको पालामा दुई विश्वविद्यालय मात्र भएपनि डामाडोल स्थिति रहेको उल्लेख गर्दै अब त्यस बाटोमा जान नहुने धारणा राख्नुभयो । उहाँले देशकोकार्यकारी प्रमुख कुलपति हुने व्यवस्था हटाउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले विश्वविद्यालयहरुलाई सधैँ राजनीतिको शिकार बनाइराख्न नहुने धारणा राख्नुभयो । उहाँले सरकार परिवर्तन हुनेवित्तिकै विश्वविद्यालयको राजनीति समेत परिवर्तन हुने भन्दै विश्वविद्यालयहरुलाई राजनीतिक अस्थिरताको अखडा बनाउन नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई कुलपति राख्ने प्रावधानले विश्वविद्यालयहरु कहिल्लै स्वतन्त्र र स्वायत्त हुन नसक्ने बताउनुभयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले विश्वविद्यालयको नेतृत्व प्राज्ञिकहरुबाटै हुनुपर्ने धारणा राखेका छन् ।