
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताउनुभएको छ ।
बुधबार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताउनुभयो । उहाँले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताउनुभयो । उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उहाँको भनाइ छ ।
महानिर्देशक दाहालले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानूनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानूनको बर्खिलाप गरेको बताउनुभयो । उहाँले विना लेवलका सिमेन्ट र डन्डी विक्री गर्ने केही डिलरलाई बिक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।
महानिर्देशक दाहालले कानूनको भावना र मर्मविपरित हुनेगरी विना लेवलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गर्नुभयो । उहाँले बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने चेतावनी दिनुभयो ।
महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो । उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानून अनुसार कारबाही हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्