
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाउनुभएको हो ।
महासचिव पोखरेलले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरुको अहिलेको बाटो त्यस्तै भएको जिकिर गर्नुभयो । उहाँले राजावादीहरुले अगाडि सारेको पश्चगामी मुद्दाहरु सफल हुन नसक्ने बताउनुभयो । आगामी दिनहरुमा राजावादीहरु अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उहाँले त्यस्ता गतिविधिमा लाग्नेहरुलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो ।
महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन एमालेले मूख्य भुमिका खेलेको जिकिर गर्नुभयो । उहाँले राजसंस्था पुनःस्थापना गर्ने राजावादीहरुको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्