१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको आग्रह


0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राजावादी र समाजवादी मोर्चालाई भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।

प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने भएर झडपको अवस्था आउनेतर्फ सचेत रहन पनि आयोगले सवै पक्षलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति गर्दै भोलि हुने प्रदर्शनलाई नै मध्यनजर गरी उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरिएको जनाइएको छ ।

छलफलमा सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय भईरहेको र प्रदर्शनकारी तर्फका प्रतिनिधिहरुसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएको विज्ञप्तिमा उल्लेख छ ।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्न निर्देशन दिनुभएको थियो । आयोगले आन्दोलनका क्रममा हुने प्रदर्शनहरुको अनुगमन गर्ने पनि जनाइएको छ ।