१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


तेस्रो पल्ट फाइनल पुग्ने धनगढीको लक्ष्य


0
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन शुरु हुन दुई दिन बाँकी छँदा सहभागी फ्रेन्चाइज टोलीहरूले तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

सात फ्रेन्चाइज टोलीको प्रतिष्पर्धा हुने नेपाल सुपर लिगको तेस्रो संस्करण आगामी शनिवारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिष्पर्धा हुनेछ । एनएसलका पछिल्ला दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधि विमुख भएको टोली हो धनगढी एफसी । तेस्रो पल्ट भने यो टोली उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।

धनगढी एफसीका देवेन्द्र तामाङले राम्रो खेल्दै यसपल्ट पनि फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन् । सहभागी सबैले राम्रो टोली बनाए पनि फाइनलमा पुग्ने लक्ष्यसहित खेल्ने देवेन्द्रले विश्वास व्यक्त गरेका छन् ।

ओलावाले आफिजजस्ता अनुभवी र अन्य विदेशी खेलाडी पनि राम्रो रहेकाले र सन्तुलित टोली बनेको अनुभवी डिफेन्डर देवेन्द्रको विश्वास छ । पछिल्ला संस्करणका तुलनामा तयारी छोटो समय मात्र भएको उनी बताउँछन् । एक हप्ता भन्दा केही दिनअगाडि मात्र तयारी सुरु भएकाले फिटनेसको समस्या हुन सक्ने अनुभवी देवेन्द्रको भनाइ छ । उनले अहिले टोलीमा चोटको समस्या नरहेको पनि उल्लेख गरेका छन् । पछिल्ला समय ट्याक्टिकल ट्रेनिङ गरिरहेको उनी बताउँछन् । आफ्नो टोलीको बलियो पक्ष अट्याकिङ रहेको उनको विश्वास छ ।

धनगढीले आगामी चैत १९ गते लुम्बिनी एफसीसँग प्रतिस्पर्धा गर्दै तेस्रो संस्करणको सुरुआत गर्दै छ । धनगढी एफसीका प्रशिक्षक भोलानाथ सिलवालले प्रिसिजनमा केही अभ्यास खेल खेलेको र प्रशिक्षण पनि प्रभावकारी प्रशिक्षण भएकाले राम्रो नतिजा आउने अपेक्षा गरेका छन् । उनले पछिल्ला दुई सिजनको फाइनलमा हार व्यहोरेकाले यसपल्ट जित्नेपर्छ भन्ने दबाबमा नरहेको बताएका छन् ।

यद्यपि, केही पुराना खेलाडीहरूमा भने त्यो भावना हुन सक्ने उनले औंल्याए । पछिल्ला समय केही अभ्यास खेल पनि भएको र त्यहाँ केही सुधार गरिएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो बलियो पक्ष स्ट्राइकिङ लाइन रहेको विश्वास व्यक्त गरे । खेलाडीमा चोट नरहेको र बलियो टोली बनेकाले आफू सकारात्मक नतिजाको आशामा रहेको उनी बताउँछन् । डिफेन्स र मिडफिल्डमा पनि बलियो पकड जमाउने लक्ष्यसहित तयारी गरिरहेको धनगढीका प्रशिक्षक सिलवाल बताउँछन् ।

यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदैछ ।