
काठमाडौं । केही दिन यता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेदै गएपछि यसको नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ ।
आइतबार वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् ।
नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ निकाल्ने र धुलो लिएर उपत्यकामा भित्रने सवारी साधनलाई तत्काल रोक लगाउनुपर्ने आह्वान गरेका हुन् ।
उनीहरूले वायु प्रदूषणको स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालयहरू बन्द गर्नुपर्ने, फोहोरमैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्यमा तत्काल रोक लगाउनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्ने जस्ता सुझाव दिएका छन् ।
प्रदूषणमापन केन्द्रहरूले देखाएको आँकडाअनुसार काठमाडौँको हावा सास फेर्नका लागि अस्वथ्य छ । हाल काठमाडौँको हावामा कार्बन मोनोक्साइड, ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरू (पिएम दुई दशमलव पाँच) को मात्रा धेरै रहेको छ ।
सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । आज काठमाडौँको हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स, एक्युआई) १७९ रहेको छ ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार विगत ९० दिनमा ७५ दिन काठमाडौंको वायु गुणस्तर हानिकारक देखिएको छ । काठमाडौँ उपत्यका विश्वमै वायु प्रदूषणको जोखिममा रहेका प्रमुख शहरहरूमध्ये पर्दछ ।
यस्तै वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले विगत केही दिनदेखि मुलुकका विभिन्न क्षेत्रहरूमा लागेको डढेलोलगायत कारणले वायु प्रदूषण बढेको जनाएको छ । यसैगरि उद्योग कलकारखाना, फोहोर तथा पराल आदि जलाउने, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो पनि वायु प्रदूषणका कारकतत्व हुन् ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दछ । विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा श्वास प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन विभागको अनुरोध छ । यसैगरि विभागले प्रदूषण बढाउने कारक तत्वको उचित नियन्त्रण गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्