३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारागार चलान


2.067k
Shares

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रकिृया पुर्‍याएर लामिछानेलाई भैरहवा कारागार पठाएको हो । अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शनिबार नै यति एअरलाइन्सको विमानमार्फत बिहान भैरहवा लगिएको थियो ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश गरेका हुन् ।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश उच्च अदालतबाट बदर भएको हो । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका हुन् ।