२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो हो : सभापति देउवा


507
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनुभएको छ ।

गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको सभापति देउवाको भनाइ छ । उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको बताउनुभयो । आदित्यनाथले राजा फर्काउने अभियान नरहेको भनेको भन्दै सभापति देउवाले भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको बताउनुभयो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।

नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।