६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बल्खुमा राप्रपाको खबरदारी सभा


676
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा काठमाडौंको बल्खु चोकमा सुरु भएको छ ।

राजसंस्था पुनस्थापनाका लागि आन्दोलन गर्ने तयारीमा रहेको राप्रपाले आज बागमती प्रदेशस्तरीय खबरदारी सभा आयोजना गरेको हो ।

सरकारले भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपा खबरदारी सभा गर्न बल्खु पुगेको हो । विभिन्न स्थानबाट निकालिएका जुलुसहरु बल्खु चोकमा पुगेपछि सभा शुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै सभा शुरु गर्नुभएको हो ।

सभामा राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरु पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् । राप्रपाको झण्डा, नेपालको राष्ट्रिय झण्डा तथा बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका थिए ।

राप्रपाले बल्खुमा कार्यक्रम गर्ने भएपछि त्यस क्षेत्रमा आज विहान ८ बजेदेखि नै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो भने कार्यक्रम स्थल आसपासका पसल तथा ब्यापारिक गतिविधि बन्द गर्न लगाइएको थियो । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा सुरक्षा चुनौती देखिएको भन्दै सरकार र प्रहरी प्रशासनको चर्को आलोचना भएपछि आज ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।