६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चित : अध्यक्ष अग्रवाल


1.287k
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले अमेरिकाले बढाएको विश्वव्यापी करको असर नेपालमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष अग्रवालले नेपालको विदेशी विनिमय दर भारतीय रुपैयाँसँग निश्चित र स्थिर रहेकाले भारतमा पर्ने विदेशी अर्थतन्त्रको असर नेपालको अर्थतन्त्रमा पनि निश्चित रुपमा पर्ने बताउनुभयो. । उहाँले नेपाल उज्यालो युगमा प्रवेश गरेपनि जलविद्युत उत्पादनमा नीतिगत समस्याले अवरोध गरेको बताउनुभयो ।

अध्यक्ष अग्रवालले सरकारले ५० भन्दा बढी जलविद्युत आयोजनाको प्राथमिक शेयर (आइपिओ) निष्कासन प्रक्रिया रोक्का गरेकाले आयोजना निर्माणमा गम्भीर चुनौती सिर्जना भएको बताउनुभयो । उहाँले आइपिओ निष्कासन हुन नसक्दा वित्तीय अवरोध सिर्जना भएकाले ऊर्जा विधेयकमा भएका कतिपय प्रावधान संसदबाट कानून बनाएर संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रसारण लाइनका लागि अनुमति लिएर काम शुरु गरेपनि पछिल्लो पटक आएको अदालतको फैसला र सम्बन्धित निकायले वन क्षेत्रमा अवरोध गर्दा लगानीकर्ताको करोडौं लगानी जोखिममा परेको बताउनुभयो ।

अध्यक्ष अग्रवालले पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा मानेर गतिविधि सञ्चालन गर्न ढिला भइसकेको बताउनुभयो । उहाँले रामायण पथ तथा बुद्ध सर्किटको अवधारणा कार्यान्वयन गरी चीन र भारतबाट धार्मिक पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।