
काठमाडौं । राजावादी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको र प्रेस स्वतन्त्रता हननका सम्बन्धमा नेपाल पत्रकार महासंघले सम्पादकहरुसंग छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने बताएका छन् । घटनाको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनअनुसार कारबाही गर्न महासंघले दबाब दिनुपर्ने उनीहरुको भनाइ छ ।
छलफल अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले राजावादीहरुको आन्दोलन लोकतान्त्रिक र शान्तीपूर्ण ढंगले गरिएको आन्दोलन नभएको बताउनुभयो । उहाँले मुलुकको व्यवस्थाको साँचो सुम्पिनको लागि अगाडि सारिएका पात्रहरुमा कुनै इमान्दारिता नभएको कारण प्रदर्शन हिंस्रक भएको बताउनुभयो ।
उहाँले आन्दोलनको नेतृत्वलाई लक्षित गर्दै गुणस्तरहिन सामान ल्याएर घर बनाउने खोजे जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले दुर्गा प्रसाईंको बल्खु आन्दोलनबाट नै तीनकुनेमा शान्तीपूर्ण आन्दोलन नहुने अनुमान गरिएपनि राज्य संयन्त्र चुकेको बताउनुभयो । उहाँले अगामी दिनमा हुने आन्दोलनहरुमा पत्रकारहरुको सुरक्षाको सुनिश्चितता गर्न समेत आग्रह गर्नुभयो । पछिल्लो समय समाचार संकलनमा जाने पत्रकारहरुमाथि असुरक्षा बढ्दै गएको उल्लेख गर्दै उहाँले महासंघ गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।
कान्तिपुर पब्लिकेशनका उपसम्पादक जनकराज सापकोटाले सुरेश रजक मृत्यु प्रकरणलाई अपराधको रुपमा व्याख्या गर्दै न्यायिक माध्यमबाट न्यायका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले अगामी दिनमा हुने आन्दोलनहरुको रिपोर्टिङको लागि सेफ्टी टे«निङको व्यवस्था गर्न समेत माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरेश रजकको न्यायको लागि आवश्यक पहल भइरहेको बताउनुभयो । आइन्दा प्रदर्शनहरुमा समाचार संकलनका लागि पत्रकार पठाउँदा सजग रहनुपर्ने बताउनुभयो । उहाँले सम्पादकहरुको सुझाव र सल्लाका आधारमा महासंघ अघि बढ्ने विश्वास दिलाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्