
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएको कारणले औषधि खरिद रोकिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधि लिमिटेडले औषधि उत्पादन बन्द गरेको विषयलाई खण्डन गर्नुभएको हो ।
प्रवक्ता बुढाथोकीले सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भई कागजातहरू पूरा भएको खण्डमा लिमिटेडले नै टेण्डर पाउने बताउँदै यो किराना पसलबाट सामान किनेजस्तो नभएको टिप्पणी गर्नुभयो । उहाँले मन्त्रालयले आफ्नो घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने समेत जिकिर गर्नुभयो ।
प्रवक्ता डा. बुढाथोकीले औषधी लिमिटेडले जी टु जी (सरकारी टु सरकारी) काम गर्नको लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै वर्ष भरी कुनैपनि औषधिको उत्पादन नरोकिने विश्वास दिलाउनुपर्ने बताउनुभयो । टेण्डर प्रक्रियामा नजाने र विजनेश प्लान पनि देखाउने जस्ता कामले मन्त्रालयलाई विश्वास नलागेको जिकिर गर्नुभयो ।
नेपाल औषधि लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेटको पनि सुनिश्चितता हुने मुख्यमन्त्री लगायतको बैठकमा छलफल भएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालयमा औषधि लिमिटेडले पेश गरेको एमओयु स्वीकृत नभएको समेत बताउनुभयो ।
नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा विक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधि लिमिटेडले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्