६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैन : गृहमन्त्री लेखक


1.651k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताउनुभएको छ ।

शुक्रबार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताउनुभएको हो । उहाँले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने बताउनुभयो ।

गृहमन्त्री लेखकले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराउनुभयो । उहाँले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताउनुभयो । यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले सेवाग्राहीलाई सम्बन्धित निकायले सेवा दिँदा समस्या खडा गर्न नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले सेवाग्राहीको आवश्यक कागजात भएको नभएको शुरुमै जाँच प्रक्रिया गरेर सेवा दिनुपर्ने बताउनुभयो । कर्मचारीले सेवा प्रदान गर्दा झन्झट नमानी असल व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले मुलुकमा स्थिर सरकारको सुनिश्चिता गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धि वर्तमान सरकारको लक्ष्य भएको बताउनुभयो ।