
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नथाकेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा अध्यक्ष दाहालले आफूहरू क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नआत्तिएको बताउँदै कम्युनिस्ट आन्दोलनको एकताको झन्डा बोक्न नछाडेको बताउनुभयो । उहाँले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकतावद्ध बनाउने कुरामा विमुख नभएको समेत स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गै एकता गर्ने उद्देश्यले प्रयास गरिए पनि सफल हुन नसकेको बताउँदै सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई छलफलमा आउन आग्रह गर्नुभयो । उहाँले छलफल र बहस गरी सही विचारको आधारमा एकीकृत र केन्द्रिकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडी बढाउने सङ्कल्प गर्न कम्युनिस्ट पार्टीहरूलाई आह्वान समेत गर्नुभयो ।
अध्यक्ष दाहालले वर्तमान सरकारको जन्म अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी र असंवैधानिक रहेको आरोप दोहो¥याउनुभयो । उहाँले अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेको आरोप समेत लगाउनुभयो । उहाँले अहिलेको सरकारले राम्रो काम गर्नेलाई अपनाम र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई संरक्षण गरेको बताउँदै सरकारले सरकारमा बस्ने हैसियत र औचित्य गुमाइसकेको धारणा राख्नुभयो ।
अध्यक्ष दाहालले अहिले देशको राजनीतिक अवस्था जटिल र चुनौतीपूर्ण स्थितिमा पुगेको समेत जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्