१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने


1.794k
Shares

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने बताउनुभएको छ ।

कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थेवेले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताउनुभयो । उहाँले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताउनुभयो । घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उहाँको भनाइ छ ।

अध्यक्ष थेवेले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुनसक्ने दाबी गर्नुभयो । उहाँले नेपाली जनताले जितेर लोकतन्त्र प्राप्ति गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाउन लागेको बताउनुभयो ।

अध्यक्ष थेवेले युवा उद्यमशीलताको सङ्कल्पसहित मनाइने उत्सवमा देश निर्माणको प्रण लिइने बताउनुभयो । लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने वैशाख ११ गतेको कार्यक्रममा कलकारहरुले आफ्नो प्रश्तुती दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।