१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौं : मुख्यमन्त्री आचार्य


312
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले श्रमिकको स्वास्थ्य परिक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरु स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताउनुभयो । उहाँले सडकमा आन्दोलन गरेर नभई संघीय सरकारसँग वार्ता र समन्वय गरी विमानस्थल सञ्चालन गरिने बताउनुभयो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए । तर मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । सरकार विमानस्थलको दिगो सञ्चालनको लागि आवश्यक कामहरु भइरहेको दाबी गर्दै आएको छ ।