
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराउनुभएको हो ।
महामन्त्री थापाले राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताउनुभयो । उहाँले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरुको अवस्थामा परिवर्तन नआउनु रहेको बताउनुभयो ।
महामन्त्री थापाले असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताउनुभयो । सरकारले अर्थतन्त्रमा देखिएका समस्या र संकटलाई समाधान गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतैपनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पार्नुभयो । सरकारमा बस्नका लागि मात्रै नभइ परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्