
उपेन्द्र खनाल
तनहुँ, असार ७ । तनहुँको बन्दीपुर गाउँपालिका–२, देप्चेका भूकम्प पीडितलाई घर बनाउँदा लिएको ऋणको व्याज तिर्न समस्या भएको छ ।
भूकम्पले घरलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि भूकम्प प्रतिरोधी घर बनाउँदा लिएको ऋणको ब्याज तिर्न समस्या भएको हो ।
जाडो, गर्मी र घामपानी सहितका दिनरात बिताउन असहज भएपछि स्थानीयले बैंकबाट ऋण लिएर भूकम्प प्रतिरोधी घर निर्माण गरेका हुन् । जमिन धितो राखेर तथा केही छिमेकीसँग सापट मागेर जसोतसो घर बनाएका उनीहरुलाई अहिले त्यसको ब्याज तिर्न हम्मेहम्मे परिरहेको छ ।
त्यसो त भूकम्पपीडितका लागि सरकारले दोस्रो किस्ताको रकम पनि बाँडिरहेको छ । तर घर बनाउँदाको खर्च ठूलो भएको र त्यसको ब्याजले नै समस्यामा पारेको अधिकांशको गुनासो छ ।
देप्चेका ३१ घरमध्ये क्षति पुगेका सबैले घर भूकम्प प्रतिरोधी घर निर्माण गरिसकेका छन् । नयाँ घरमा ढुक्कसँग बस्न पाए पनि ब्याजको पिरलोले उनीहरुलाई चिन्तामा पारेको छ ।
पैसा खोजेर घर बनाएपछि ब्याज तिर्नको लागि केहीले ज्याला मजदुरी गर्न थालेका छन् । भूकम्पीय आवास पुनर्निमाण आयोजनाले दोस्रो किस्ता स्वरुप तनहुँका १२ सय पीडितलाई भुक्तानी उपलब्ध गराए पनि सो रकमले घर निर्माणमा सामग्री ढुवानी गर्न समेत नपुग्ने गुनासो अधिकांशको छ ।
त्यसो त सबै ठाउँका भूकम्प पीडित नै समस्यामा छन् त्यसमा पनि सुरुमै ऋणधन गरेर घर बनाएकालाई व्याज तिर्दा समस्या हुनु स्वाभाविक हो । सरकारले भूकम्पपीडितको राहतको लागि सकेसम्म सहयोग गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्