९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


देशमा म्याच फिक्सिङका अनेकन रुप र अनुहारहरु


0
Shares

-संजिव कार्की
खेलाडीहरु भावनात्मक एकताका शुत्रधार र देश जोड्ने, भूगोलमा भावनात्मक एकता सुदृढ गर्ने माध्यम अर्थात सेतु हुन् । खेलाडी मैदानमा पसेपछि केवल उसको पहिचान उसले प्रतिनिधित्व गरेको भूगोल र सिमा बन्छ । देशको झण्डा बोक्नेहरु साझा र सबका प्रिय हुन्छन, बन्छन । राष्ट्रिय स्तरको प्रतिस्पर्धा छ भने गाउँ, नगर र जिल्ला हुँदै क्षेत्रको नाममा बोलिन्छ, बोलाइन्छ भने अन्तर्राष्ट्रिय स्पर्धा छ भने देशको नामले खेलाडीको नाम र पहिचान बन्छ । आ–आफ्ना खेलाडीको पक्षमा खेलप्रेमी दर्शकको बिभाजन हुन्छ । आफ्नो भूगोल र सीमाको प्रतिनिधत्व गरेर खेल्ने खेलाडीहरुले त्यो क्षेत्रमा बसोबास गर्ने सबै जात, धर्म, लिंग र वर्गको प्रतिनिधित्व गर्छन अत खेलाडीमा सबैलाई एक पोयोमा बाध्ने सुत्र हुन्छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेल खेल्न जाँदा ती केवल नेपाली मात्रै हुन्छन अनि आम नेपाली तिनीहरुको विजय र खुसीमा आफ्नो विजय अनि खुशी देख्छन भने तिनीहरुको पराजय र दुःखमा आफ्नो पराजय र दुःखको अनुभूत गर्छन । कतिपय विदेशी प्रतिस्पर्धामा आफ्नो समर्थन गरेको टिम र मन पर्ने खेलाडीहरु हुन्छन । तिनीहरुको समर्थनमा बाजी थाप्ने, नाराबाजी गर्ने तथा उनीहरुको माया प्रतिबिम्बित गर्न खेलाडीहरुको नम्बर र तस्बिर अंकित जर्सीहरु लगाएर मोह देखाउने चलन छ । आफ्नो रुममा मन पर्ने खेलाडीको तस्बिर सजाउनेदेखि सामाजिक संजालमा प्रोफाइल पिक्चरमा राख्ने लहड र शैली छ । यसरी हेर्दा खेलाडीको मान सिमा र निश्चित भूमिमा मात्रै सिमित बन्दैन तर खेलाडीको परिचय र पहिचान उसको देश र ऊ आबद्ध क्लबसंग जोडिन्छ । तसर्थ खेलाडी जुनसुकै देश र भूगोलका हुन तिनीहरुले प्रतिनिधित्व गर्ने देश क्षेत्र र भूगोलका वासिन्दा तिनीहरुको खुसीमा आल्हादित हुने र दुखमा पीडित बन्ने मानवीय शिलशिला हो ।

एक खेलाडीको रुपमा पारस खड्का हुन् या सोमपाल कामी, सागर खड्का हुन् या शरद भेस्वाकर, शक्ति गौचन या आयशा शाक्य, या हुन् गौरिका सिंह यी केवल नेपाली बन्छन यहाँ तिनको जात, बर्ग, धर्म र लिंग हेरिन्न । केवल हेरिन्छ आफुलाई प्रतिनिधित्व गर्ने राष्ट्रियता, राष्ट्र भित्रको प्रतिस्पर्धामा पनि त्यस्तै आन्तरिक राष्ट्रियता हेरिन्छ । आफूलाई शुत्रबद्ध गर्ने माध्यम रोजिन्छ । खेलाडीलाई गहना र आभूषण मान्नुको अर्थ र कारण पनि यही हो त्यो खेलाडी जसले जित दिन्छ, नाम र पहिचान दिन्छ । भावनात्मक एकताको डोरीले सबैलाई समेट्न सक्छ । त्यसैले उसको कर्म र पहिचान सम्बन्धित भूगोल र क्षेत्रको लागि सुशोभित गर्ने गहना हुन्छ । सुशोभन मन नपर्ने को हुन्छ र ? त्यसैले खेलाडीरुपी गहनामा गर्व गर्छ मान्छे ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जब नेपाली खेलाडीहरु विजय बन्छन तव देश एक ढिक्का र एकमुष्ट भएर खेलाडीको जयजयकार गर्न अघि सर्छ । देश भित्रको आन्तरिक सारा विभेद र खिचलो बिर्सेर नेपाली हुनुको नाताले तिनको खुशीमा समाहित हुन चाहन्छन नेपालीहरु । खेलाडी त्यस्ता अचुक अश्त्र र बिधि हुन एकताको माध्यम र सिंढी जुन सबै नेपाली उक्लन चाहन्छ । यो सारा विश्वको आफ्नो परम्परा हो । खेलाडीको खेल जित्ने हार्ने संयोग मात्र होइन एकताको प्रवर्दन गर्ने बाटो हो ।

आफ्नो भुगोलको ममत्व र माया देखाउने सरल तरिका । पेले ,ब्राजिल, म्याराडोना अर्जेन्टिना, सचिन तेन्दुलकर ,भारत, क्रिस्टियानो रोनाल्डो, पोर्चुगल, अम्बापे , फ्रान्सको जति उनको देशमा इज्जत छ भावनात्मक रुपले देशको एकता र नाम रोशन गरेका छन् त्यति नै हाम्रा खेलाडी तिनको देन र जितमा हाम्रो नेपाली छाती गर्व महशुस गर्छ ।

खेल, खेलाडी र तिनको इज्जत प्रतिष्ठा मान मनितोसँगसगै केही विकृति र विसंगत पक्ष पनि बाहिरिने गरेको छ िआत्मघात गर्ने, क्षणिक स्वार्थ र लोभमा परेर आफ्नो प्रतिभा र क्षमतालाई पैसामा रुपान्तरण गर्न म्याच फिक्सिंगको सहारा । खेल जगत र क्षेत्रको लागि कालो धब्बा र अश्लिल हर्कत हो म्याच फिक्सिंग । म्याच फिक्सिंग खेल क्षेत्रमा मात्र सिमित छैन । यसको अनेकन रुप र अनुहारसहित हर क्षेत्रमा प्रभाव र ताण्डव छ । व्यवहारिक सानितिनो अवस्था देखि राज्यको नीतिगत तह, निर्णय प्रक्रियामा समेत म्याच फिक्स्सिंग टाइपका अपराध र कर्तुत हुने गरेको छ । द्रव्य पिचाशहरुको कारण इमानदारीले नेटो काटेर म्याच फिक्सिंगका थुप्रै घटना र अवस्थाहरुमा नेपाल गुज्रेको छ ।

राजनीति कुटनीति, खेलकुद, नैतिकता, धर्म, सेवा र सहयोग, अदालत, न्याय अनि फैसला जतापनि म्याच फिक्सिंग देख्न पाइन्छ । पार्टी भित्रको चुनावी अन्तर्घातदेखि मन्त्रिपरिषद्को सूचना चुहाउने, लिक गर्ने र सो बापद आर्थिक लाभ लिने कर्तुत म्याच फिक्सिंग हो । सरकारवादी मुद्दामा प्रायः सरकारलाई हराउने परिपाटी र ट्रेन्ड पनि सरकारी वकिलले म्याच फिक्सिंग गरेको रुप मध्य एक हो । अनाधिकृत काम गरेर लाभ लिने, तुच्छ लोभमा बिक्ने, इमान छोड्ने, सम्झौता उलंघन गर्नेदेखि ठेक्कापट्टामा मिलिभगत सबै म्याच फिक्सिंगका असली अनुहारहरु हुन् ।

एउटा अफिसको पियनदेखि सचिवसम्म अनि एक राजनीतिक पार्टीको ग्रासरुटदेखि केन्द्रसम्म, एक खेलाडी गाउँ तहदेखि केन्द्र हुँदै अन्तर्राष्ट्रिय तहसम्म म्याच फिक्सिंगमा संलग्न छ । दुर्भाग्य खेलाडीहरु कम अरु बढी म्याच फिक्सिंगमा लागेका छन तर चर्चा खेलाडीको भैदियो । यहाँ चर्चा तिनै खेलाडीले गरेको भनेको म्याच फिक्सिंग र अदालत अनि त्यसको फैसलाले उब्जेको प्रश्न बारे छ ।

बिभिन्न खेलमा बाजी थाप्नेहरू आफ्नो पक्षमा नतिजा निकाल्न अनेकन उपाय र जुक्ति लगाउँछ्न । त्यस्तै जुक्ति हो म्याच फिक्सिंग पनि । खेलकुदमा म्याच फिक्सिंग भनिने भाषालाई ठेक्का पट्टाको टेन्डर हुँदा पासो थाप्ने, छिर्के हाल्ने र च्याखे थाप्ने भनिन्छ । यो मिलिभगत गरेर टेन्डर हात पार्ने तरिका हो । त्यस्तै खेलकुदमा खेल शुरु हुनु अगावै नतिजा तय गरेर परिणाम निकाल्न गरिने सहयोग, कमजोर खेल प्रदर्शन र विपक्षी अनुकुल वातावरण बनाएर विजय उसको पोल्टामा पारिदिने प्रपन्च र सो बापद लिने आर्थिक लगायत लाभ नै म्याच फिक्सिंग हो ।

नेपालका फुटबल खेलाडीहरु पनि यसमा मुछिएर पहिलो पटक २०७२ कार्तिक २२ मा बिशेष अदालतमा मुद्दा खेप्न पुगे । सागर थापा, अन्जन केसी, रितेश थापा ,सन्दिप राई, विकास सिंह क्षेत्री, डेजिप थापा नेपाली खेलकुदमा म्याच फिक्सिंगको अपराध गरेर म्याच फिक्सिंग गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको थियो । यी खेलाडीहरुलाई सन् २००८ देखि नै बिभिन्न अन्तर्राष्ट्रिय फूटबलका २२ खेलमा म्याच फिक्सिंग गरेर पैसा लिएको आरोप र दावी प्रहरीको थियो । प्रतिखेलाडी ५००० अमेरिकी डलर लिएर खेल हार्ने गरेको तत्कालिन एसएसपी सर्वेन्द्र खनालको अनुसन्धानले देखाएको थियो । राज्यविरुद्दको अपराध सजाय ऐन २०४६ को दफा ३ अनुसार राज्य विप्लव गरेको कसुर नदेखिएको भनी विशेष अदालतले सफाइ दिएको थियो तर उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको र हालसालै विशेष अदालतकै निर्णय सदर गरेकोले खेलाडीहरु दोष मुक्त बनेर मुद्दा जित्न सफल बने ।

सुनिएको थियो खेलाडीहरु लगायतले म्याच फिक्सिंग स्वीकार गरेका थिए तर त्यो स्वीकारोक्ति प्रहरी ज्यादती खप्न र वच्न मात्र थियो या सत्य थियो ? यो सफलता, असफलताको कथा भित्र मुद्दा लगाउने, आरोप गर्ने, मुद्दा जित्ने हराउने थुप्रै उपकथा षड्यन्त्र र जालझेल देख्न पाइन्छ । फितलो अनुसन्धान, फसाउने प्रपन्च र नियत खराब राखेर किन कसैलाई फसाउने खेल हुन्छ ? निर्दोष र निरपराध किन दोषी बनेर सामाजिक प्रतिष्ठा, बयक्तिक जिन्दगी, आयआर्जनका बाटो बन्द गरिन्छ ? प्रमाणित र पुष्टि नहुने आधार राखेर किन आग्रहवस कसैको करियर चौपट पारिन्छ ?

गलत नै छन भने किन मुद्दा जिताएर नकारात्मकताको प्रवर्द्धन गर्न न्यायालय, सरकारी वकिल न्यायाधीशहरु पदको दुरुपयोग गर्छन ? अनैतिक कार्य रोक्न पनि गलत हरकत, अपुरो अनुसन्धान, नियतवस मुद्दा लगाउने, मुद्दा नियतवस जिताउने, हराउनेहरुलाई कारवाही गर्नु पर्दैन र ? एक निर्दोषको नैतिक भौतिक आर्थिक, क्षतिको क्षतिपूर्ति कसले दिने ? बरु अपराधी उम्कोस तर निरपराध र निर्दोष नफसोस भन्ने कानुनी अवधारणा हुँदाहुँदै निर्दोष फसाउने कार्य पनि म्याच फिक्सिंग नै हो ?

यदि सागर थापाहरु गलत थिएनन भने उनीहरुलाई गलत आरोप लगाउने, अनुसन्धान गर्ने अधिकारीले त्यसको सजाय पाउनु पर्छ कि पर्दैन ? अमूल्य समय र नैतिकता धुलिसाथ पारेको सोध भर्ना के ले गर्न सकिन्छ ? शक्तिमा हुनेको गलत हर्कत र खराब नियत रोक्नको लागि पनि अप्रमाणित र पुष्टि नहुने तर्क र कारण राखेर कसैलाई मुद्दा चलाउन र लान्छना लगाउन नपाउने कानुन हुनुपर्छ यदि मुद्दा लगाउनेको दोष भएमा त्यसलाई पुन कानुनको फन्दामा कस्ने र आर्थिक क्षति उसकै श्रीसम्पति र जायजेथाबाट असुल उपरसहित कैद सजायको बन्दोबस्त हुने हो भने शक्ति दुरुपयोगमा कमि आउथ्यो कि ? न्यायाधीशले गलत फैसला दिएमा उसलाई पनि कानुन लाग्ने अवस्था नबनेसम्म पहुँच, पैसा र पावरमा कानुन बिकिरह्न्छ । न्याय क्रय विक्रयको बस्तु बनिरहन्छ ।

कहाँ छैन र म्याच फिक्सिंग ? बस यसको स्वरूप र अनुहारमा फरकपन र शैलीमा पृथकता छ तर हर ठाउँ हर हमेशा म्याच फिक्सिंग भै रहन्छ । हिजो मात्र सरकारले त्रिवि अध्ययन संस्थान महाराजगन्जमा बरियताको ३३ औं नम्बरकी प्रा.डा. दिव्या सिंह शाहलाई नियुक्त गरेर म्याच फिक्सिङमा अर्को रुप देखिएको छ ।

वरियता र बरिष्ठले नियुक्ति पाउने अडान सहित डाक्टर गोविन्द केसीले सत्याग्रह गर्दा डाक्टर सिंह सो अभियानको अभियन्ता हुनुहुन्थ्यो तर आज नैतिकता भुलेर नियुक्ति लिनु भएको छ । यो पनि म्याच फिक्सिंगको अनैतिक कार्य हो । थरिथरि अनुहार र बाटोबाट म्याच फिक्सिंगको कारोबार चलिरहेको छ । चलिरहन्छ । पद र पैसाले पद र पैसाको बल र आकर्षणमा म्याच फिक्सिंग गरिरहन्छन । यो क्रमको अन्त्य गर्न उच्च नैतिक धरातल र विवेक चाहिन्छ । जुन आजका शासक, प्रशासकमा प्रायः खडेरी परेको छ । त्यसैले नैतिक स्कूल देशमा जरुरि छ ।