
-हरिविनोद अधिकारी:
हामीले मात्र अर्जुनको मस्तकविहीन शरीरमात्र देख्यौँ । अचम्भ थियो, मस्तक कसले कसरी चोर्यो, कसैले पनि देखेन, थाहा पनि पाएन तर टाउको थिएन भन्नेचाहिँ सत्य थियो किनभने त्यहाँ टाउको विनाको एउटा मलाई देख्नेबित्तिकै उलुपीले रुँदै जुन कुरा भनिन्, त्यसले मलाई सन्तोष तथा ताप दुवै भयो । उलुपीमा उनको पति जीवित हुने कुरामा विश्वास थियो एकातिर भने अर्कोतिर उनलाई थाहा भएको मृत्युको कारण पहिले नै उद्घाटित भएको भए कम्तीमा बभु्रबाहनलाई पितृहन्ताको दोष त लाग्ने थिएन । तर जे हुनु थियो, भइसकेको थियो । बभ्रुवाहनले जुन परिप्रेक्ष्यमा अर्जुनमाथि आक्रमण गरेको थियो, त्यो पनि क्षत्राणीका रुपमा रुपमा, राजमाताको रुपमा मलाई स्वाभाविक नै लाग्यो ।
एउटा वीरपुरुषले आफ्नी सतीसाध्वी माताका वारेमा चारित्रिक दोष खप्ने कुरै थिएन, झन त्यो पनि आफ्नै पिताबाट ? त्यो पनि मेरी कुनै चित्राङ्गदा भन्ने पत्नी नै थिइन, त्यस्तो नाम गरेकी कुनै कन्यासँग मेरो बिहे भएकै छैन अनि कुनै गन्धर्बसँग लागेर जन्मेको सन्तान कसरी मेरा छोरो हुनसक्छ ? यस्तो आरोप ,त्यो पनि मणिपुरको महाराजलाई लागेपछि त्यो त त्यो दिनसम्मको परिचयमाथि नै धाबा बोलेको मानियो होला , अनि एउटा बलवान राजालाई आफ्नो परिचयमाथि बोलिएको धाबा, आफ्नी आमाको सतीत्वमागि गरिएको आक्रमण, त्यो पनि आफ्नै पिताबाट, कसरी सह्य भयो होला र ? अनि ऊ पनि त अर्जुनकै छोरो थियो भने नियतिले अर्जुनकै नाममा कसम खाएर अर्जुनमाथि नै प्रहार गर्दा न्याय त गर्नु नै थियो, न्याय नै भएको हो । कुरो बुझेपछि र अर्जुन जीवित भएपछि मात्र त्यो कारण सहज भएको पनि हो ।
विचरा बभ्रुवाहनको अवस्था कस्तो भयो होला? घोडा बुझाउन आएको छ आफैँले पक्डेर राखेको घोडा आफ्ना ज्येष्ठ पिता युधिष्ठिरका प्रतिनिधि आफ्नै पिता अर्जुनलाई । खुसीले गद्गद् हुँदै , पहिलोपटक पितालाई भेट्न पाउने अनि मेरो छोराभनेर पिताको वात्सल्यताको महसुस गर्न पाउने अनि त्यही पिताले मणिपुरमा राज्य गरेर बसेको राजा छोरालाई छोरो भनेर अङ्कमाल गर्नुभन्दा उल्टै प्राप्त परिचयमाथि नै धाबा बोले पछि पक्कै नै त्यहाँ विद्रोह जन्मेको बुझ्न कठिन त थिएन तर दुर्भाग्यचाहिँ के भएछ भने नागमणिको स्पर्शले ब्युँतिने प्रत्याभूति भएपछि त्यो दुर्लभ नागमणि ल्याउँदा नै मस्तक नहुनुले निम्त्याएको थियो अकल्पनीय समस्या । अब अर्जुनलाई कसरी व्युँताउने भन्ने ।
पहिले मणिपुुरका अजेय सेनाको अर्जुनका सेनासँग भीषण युद्ध भयो, अर्जुनसँगै वृषकेतुको पनि वध भयो, सैयौँ वीरहरु मारिए, घाइते भए । अनि बल्ल थाहा भयो, जानेर नजानेर पिताको हत्या पुत्रबाटै भएकै थियो । अर्जुनलाई बचाउने अब एउटै उपाय थियो—पातालबाट शेषनागको जिम्मामा रहेको अमृत र नागमणिको स्पर्शले मात्र अर्जुन र उनको सेनाको पुनर्जीवन । उलुपी पिताले सहजताका साथ अमृत र नागमणि दिइ हाल्नुहुन्छ भनेर लिन गएका नाग र मणिपुरे राजदूतहरुले ल्याउन सकेनन् किनभने नागहरुको गणतन्त्रमा कृतघ्न मनुवाहरुलाई नागमणि दियो भने आफ्नो काम सम्पन्न भएपछि फर्काउने छैनन् र हामीमाथि नै दमन गर्नेछन् भन्ने थियो । नागहरुको सभाले दिनु पथ्र्यो । ज्वाईँको जीवन रक्षाका लागि दिइन्छ नै होला भने शेष नागले पनि त्यति धेरै ध्यान दिएका थिएनन् क्या रे । त्यो सभामा धृतराष्ट्र नागले नै मनुवाहरुमाथि विश्वास नगर्न र कुनै पनि हालतमा नागमणि नदिनका लागि आबाज उठाएर बहुमतले नदिने निर्णय गराएको थियो । त्यो कुरा राजदूतहरुले खबर ल्याए अनि पिताको मृत्युका लागि कारक बनेको मणिपुर नरेश बभ्रुवाहन अत्तालिँदै पातालमा युद्ध गर्न गएछ र आफ्नो क्षमताले त्यो सामान लुटेरै ल्याएको रहेछ ।
तर फर्काउने कुरामा भने उसले विश्वस्त बनाएको रहेछ । स्वयं शेषनाग पनि अर्जुनसँग कृतज्ञ थिए र ज्वाईँको लागि जस्तोसुकै त्याग गर्न पनि तयारै रहेछन् । हाम्रो भेट त्यहीँ भयो जहाँ अर्जुनको शरीर निश्चल थियो र हामी हस्तिनापुरबाट रुँदै कराउँदै गएको ठूलो डफ्फा नै थियो । स्वयं कृष्ण नै थियो हामीसँग । हाम्रो आशा र भरोसा पनि कृष्णमा नै थियो । बभ्रुबाहन पनि कृष्णको चमत्कारका वारेमा सुनेकाले कृष्णभक्त थियो र उसको बाबु अर्जुनका नै नर भएकाले नारायणका वारेमा आस्थावान हुने नै भयो । सायद उलुपी र चित्राङ्गदाले कृष्णका वारेमा धेरै कुरा सुनाएका पनि थिए होलान् । यसकारणले स्वयं मणिपुर नरेश कृष्णको सेवामा हाजिर भएको थियो तर समस्या भनेको अर्जुनको शिर छैन, शरीरमात्र छ । कसरी ब्युँताउने त्यो शरीरलाई । एकातिर स्पर्श हुने बित्तिकै मरेको जीव बाँच्ने मणि नदिने निर्णय गराउनु र अर्कोतिर अर्जुनको मस्तक हराउनु एउटा संयोग मात्र रहेनछ भन्ने कुरा पछिमात्र बभु्रबाहनले थाहा पाएकोले आफैँ गएछ हजुर्बा शेषनागसँग लडेर नागमणि ल्याउन र अमृतको घडा बोक्न । शेषनाग स्वयंलाई आफ्नी छोरीको सिन्दुर जोगाउनु जो थियो र अर्जुन बचाउन नसकेकोमा आउने लान्छना ससुरा भएकाले अलि बढी नै उनमा आउने पक्का थियो
मानिसहरुका वारेमा धृतराष्ट्र नागको धारणाले एउटा संशय भने नाग तथा मानिसहरुमा पैदा भएको थियो-किन दुर्बुद्धि र दुःस्वभाव पहिले भन्दा फरक कुरा गरिरहेका छन् ? सायद उलुपीलाई यसको भान थियो , ज्ञान थियो र पक्का शिर चोर्ने तिनीहरु नै हुुनुपर्छ भन्ने भए पनि नदेखेको कुरामा शङ्कामात्र गर्न सकिन्थ्यो । जसरी पनि शिर आवश्यक थियो अमृत र मणिस्पर्शका लागि पनि । गज्जब त के भएको रहेछ भने पछि पो थाहा भयो-त्यो मस्तक त धृतराष्ट्र नागका छोराहरु दुर्बुद्धि र दुःस्वभाव मिलेर लगेका रहेछन् । कसैले देख्ने कुरा पनि भएन ।
उनीहरुमा भेष बदल्ने,अनुहार बदल्ने र लुप्त भएर हिँड्ने कला थियो । महाभारत युद्धमा जेठाजुका सन्तानहरु सखाप पारेको भनेर जेठाजुसँग मितेरी साइनो गाँसेका धृतराष्ट्र नागले कुनै पनि हालतमा अर्जुन नबाँचोस् भन्ने ठानेर टाउको नै लुकाएपछि कसरी जोडिन्थ्यो ? अनि कसरी बभ्रुवाहनले पश्चाताप गर्दै पिताको अङ्कमालमा बाँधिएर माफी माग्न पाउँथ्यो ? अनि कसरी अर्जुनले महान वीर तथा आफूलाई पनि हराउन सक्ने बहादुर छोरालाई स्याबासी दिन सक्थ्यो ? नत्र कसरी उलुपी र चित्राङ्गदाले आफूसँग विछोड भएको धेरै वर्षपछि आफ्ना पतिसँग मिलाप गर्न पाउँथे ।
दुर्बुद्धि र दुःस्वभाव जसरी पनि शिर कुहाउने पक्षमा थिए र लुकेर बसेका थिए । अब एउटै उपाय र अन्तिम अस्त्र भनेको कृष्णकै चमत्कारमा निर्भर थियो । एउटा अचम्भको मौनता थियो, कुतुहल व्याप्त थियो र कसरी अर्जुनलाई बचाउने भन्ने जिज्ञासा थियो । मलाई अर्जुन तत्काल जीवित चाहिएको थियो तर पाण्डु महाराजको अन्त्य देखेकीले कृष्णको आशा र भरोसा भए पनि नियतिले ठगिएकी मलाई डर पनि थियो , कतै अर्जुन जीवित नहुने पो हो कि ?
त्यही बेलामा हातमा पानी लिएर कृष्णले रौद्ररुपमा सङ्कल्प गर्न थालेका परैबाट मैलेसहित सबैले देख्यौँ र भन्दै थियो-यदि म ब्रह्मचर्याश्रममा आजसम्म रहेको रहेँछु भने जसरी पनि अर्जुनको टाउको यहीँ ठाउँमा अहिले नै प्रकट होस् । नभन्दै टाउको अचानक प्रकट भयो । अमृत सिञ्चन गरियो, मणिस्पर्श भयो र अर्जुन निद्राबाट उठेजस्तै गरी जुरुक्क उठ्यो र आफ्नो गाण्डीब समात्यो र यज्ञको घोडा आँखाले खोज्न थाल्यो । अनि तत्काल कृष्णलाई देख्यो, मलाई देख्यो, भीमलाई देख्यो र वृषकेतुको खोजी ग¥यो । त्यतिबेलासम्म वृषकेतुसहित सबै सेना ब्युँतिसकेका थिए । त्यसबेलाको अवस्था कस्तो थियो भने म त्यो हर्षातिरेकको कसरी वयान गरुँ अब , कसरी सम्झने हो अब । खुसी नै खुसीको अवस्था थियो । क्रमशः
प्रतिक्रिया दिनुहोस्