
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, असार १० । विद्यालयस्तरीय एसइई परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ प्रणालीमा प्रकाशन गर्न थाले पनि नतिजा झन् खस्कँदै गएको छ ।
शिक्षा मन्त्रालयले वि.सं. २०७२ सालदेखि सुरु गरेको लेटर प्रणालीका कारण वर्षैपिच्छे नतिजा खस्कँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
२०७२ सालदेखिको एसइई परीक्षाको नतिजा हेर्ने हो भने हालसम्म १० प्रतिशतका दरले घटेको देखिन्छ ।
२०७२ सालमा उत्तीर्ण प्रतिशत ८५ थियो । ०७३ सालमा ८२ प्रतिशतमा झरेको नजिता हाल ८ प्रतिशतले घटी ७५ प्रतिशतमा आइपुगेको छ ।
लेटर ग्रेडिङ प्रणालीका कारण कम गुणस्तरका विद्यार्थीको संख्या वर्षेनि बढ्दै गएको देखिएको छ ।
शिक्षाविद् मनप्रसाद वाग्लेले लेटर ग्रेडिङ प्रणालीको मर्मभन्दा उल्टो गतिमा नतिजा आएको भन्दै अब यसरी नै जाने हो भने शिक्षा क्षेत्र निकै खस्कने टिप्पणी गरे ।
०.८५ देखि १.६५ ल्याउने विद्यार्थीको संख्या नै ९४ हजार २७३ जना रहेको छ । जुन विद्यार्थी उच्च शिक्षा पढ्नबाट बन्चित हुनेछन् ।
०७२ सालमा २ जीपीए ल्याउने तीन प्रतिशत विद्यार्थीमात्र थिए । यो वर्ष २ जीपीए ल्याउने १३ प्रतिशत विद्यार्थी छन् ।
३ जीपीएभन्दामाथि ल्याउने धेरै निजी विद्यालयमा पढ्ने विद्यार्थी छन् भने २.२ भन्दा कम जीपीए ल्याउने सबै सरकारी विद्यालयमा पढ्ने विद्यार्थी छन् ।
नीति–निर्माताले नै गुणस्तरमा ह्रास आउने निर्णय गरेकाले नजिता खस्कँदै गएको भन्दै शिक्षाविद् मन वाग्ले ‘अब सच्चाएर जानुको विकल्प छैन’–भन्छन् ।
यस वर्ष ‘ए प्लस’ ल्याउने १४ हजार २३४, ‘ए’ ल्याउने ४६ हजार १३०, ‘बी प्लस’ ल्याउने ४९ हजार ३७, ‘बी’ ल्याउने ७० हजार ५१२, ‘सी प्लस’ ल्याउने ६१ हजार ८७० र ‘सी’ ल्याउने विद्यार्थीको संख्या भने सबैभन्दा बढी छ, जसमा १ लाख १ हजार ४३ जना छन् ।
कोहीपनि विद्यार्थी फेल हुँदैनन् भनेर भ्रम फैलिएका कारण विद्यार्थीले पढ्न नै छाडेकाले पनि समस्या बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
अर्को वर्षदेखि प्रदेश सरकारले सन्चालन गर्न लागेको एसइई परीक्षामा विद्यालय व्यवस्थापन समितिलाई बलियो बनाउनसकेमात्र पनि केन्द्रले गरेकोभन्दा राम्रो नतिजा ल्याउनसक्ने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्