
काठमाडौं, कात्तिक १८ । साहित्यकार रामेश्वर भुजुद्वारा लिखित ‘अंगुलीमाल’ नामक बहुभाषी पुस्तक विमोचन गरिएको छ । भक्तपुरको थिमिस्थित शंखधर चोकमा आयोजित एक कार्यक्रमकाबीच अहिंसाको सन्देश दिने उक्त पुस्तक विमोचन गरिएको हो ।
हिंसाको विरुद्ध प्रतिहिंसा होइन भन्ने सन्देश दिन आफूले पुस्तक लेखेको भुजुले जनाए । तत्कालीन समयमा सिद्धार्थ गौतम बुद्धले हिंसात्मक आचरणका अंगुलीमाललाई अहिंसाका लागि प्रेरित गर्दै शिष्य बनाएको कथामा आधारित गरेर अंगुलीमाल किताव रचना गरिएको उनको दाबी छ ।
कार्यक्रममा पुस्तकलाई समालोचन गर्दै नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थले संसारमा शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्ने औंल्याए । हिंसाले मानव जीवनमा दीर्घकालीन नकारात्मक असर पुर्याउने भन्दै उनले यसप्रति विकर्षण गराउन किताबले सहयोग गर्ने बताए ।
नेपाली र नेपालभाषामा लिखित किताबलाई उनले अध्यापन गरेका विद्यार्थीहरुको समूहले प्रकाशन गरेका हुन् । प्रकाशन समूहमा ज्ञानकृष्ण श्रेष्ठ, इन्द्रकृष्ण श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) तथा लक्ष्मीबहादुर श्रेष्ठ छन् ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, साहित्यकार नरेन्द्र हाडा, त्रिरत्न शाक्य, धु्रव मधिकर्मी लगायतका साहित्यकार, समाजसेवीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्