
के नेपाल बन्छ ? के नेपाललाई नेताहरूले परिवर्तित समयमा समृद्धि र विकासको यात्रामा लैजान्छन् ? यही पुस्ताका नेताले नेपाललाई बनाउने सामथ्र्य राख्छन् ? हाम्रै पालामा नेपालको चौतर्फी विकास हुन्छ ?
यी र यस्ता प्रश्नहरू अहिले चौतर्फी रुपमा नेपालभित्र र नेपालबाहिर उठ्ने गरेका छन् । कल्पनाको महल जो कसैले सजिलै बनाउन सक्छन् तर यथार्थको कार्यक्रमलाई सफलीभूत पार्नका लागि असिम जोश र ऊर्जा भएका राजनेताहरू चाहिन्छन् । वर्तमान समयमा नेपालमा दुई तिहाई समर्थन पाएको कम्युनिष्टहरूको सरकार केन्द्रमा छ । यो सरकारले चाह्यो र अतुल इच्छाशक्ति राख्यो भने नेपालको कायापलट हुन सक्छ ।
हावा योजना र तर्कनाले मात्र देश बन्दैन । सरकारसँग इच्छाशक्ति भएरमात्र पनि नहुँदो रहेछ । सरकारसँग बजेटमात्र पनि भएर नपुग्ने रहेछ । काम गर्नेहरू अर्थात् सत्ताको चाबी हातमा हुनेहरूले नै अहिले सरकारलाई सफल बनाउने हैसियत राख्छन् ।
यतिखेर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल नेपालका दुई सर्वशक्तिमान् नेता हुन् । यी दुई नेताहरूले आफ्नो व्यक्तिगत लाभहानीका कुरामा नलागीकन नेपाल र नेपालीको भविष्यका लागि अहोरात्र काम गरेर देखाए भने साँच्चै नेपालको कायापलट हुन सक्छ । यो यथार्थ हो ।
कांग्रेस चुनाव हारेरमात्र होइन नीति र कार्यक्रमका अभावमा पनि सिथिल बनेको छ । यसका पुराना पार्टपूर्जामा नयाँ बेरिङ र ग्रिज हालिएकै छैन । संगठन पुरानो र सोचमा धमिरा लागेको छ । यसरी नियाल्ने हो भने कांग्रेसले २१ औं शताब्दीको प्रजातान्त्रिक समाजवादको बाटो अख्तियार गर्न सकेकै छैन । यो परिस्थितिमा उसका भोटरहरूमा पनि दिशाहीनताको विचलन देखा परेको छ ।
इतिहासमा गर्व गर्ने कांग्रेसलाई उसका हज्जारौंहज्जार निस्वार्थी कार्यकर्ता र नेताहरूले बचाएका छन् । दुई चार नेताहरू जो केन्द्रका विभिन्न पदमा पदासीन छन्, तिनीहरूकै अकर्मण्यता र चिन्तनको गरिबीपनाले गर्दा कांग्रेसको यो हविगत भएको हो । यो कुरा विश्वलाई थाहा छ । थाहा भएर पनि विश्व अझै कांग्रेसलाई विश्वास गर्छ । यसरी उसको भविष्य स्वर्णिम् भएर पनि वर्तमानमा ग्रहण लागेको छ । यसलाई विधिको विडम्बना नै भन्नु पर्छ ।
सपना देखाउने कलामा कम्युनिष्टहरू माहिर छन् । उनीहरूले विश्वमा करिब २ सय वर्षदेखि स्वर्णिम् सपनाको महल बाँडेका छन् । नेपालको इतिहासमा पनि करिब ६५ वर्ष भैसकेको छ– कम्युनिष्ट पार्टी स्थापनाको । तर पनि जनताका बास्तविकता उस्तै छ । अहिले पनि गरिब नेपालीहरूको हविगत ज्यूँका त्यूँ छ ।
परिवर्तित राजनीतिक व्यवस्थामा पनि गरिबका सपनाको दुहाई दिएर कम्युनिष्ट पार्टीहरू सत्तारोहमै भुलिएका छन् । केही मन्त्रीहरूको व्यक्तिगत सम्पत्ति देख्दा यस्तो लाग्यो कि अब देशको समृद्धि नभएर नेताको समृद्धि छाउन लागेछ । अकूत धनराशिका नेताहरू र तिनका पत्नीजीका नाममा भएका सम्पत्तिलाई विश्लेषण गर्ने हो भने मानिस आम जनताका लागि सपनाको व्यापारमात्र गर्ने रहेछ । त्यही कुरा आफ्नो जीवनमा उतार्न नसक्ने रहेछ । यो नेपालको वर्तमान अवस्थालाई हेर्दा चरितार्थ हुन जान्छ ।
यतिभएर पनि नेपालको अवस्था अहिले ज्यादै क्रिटिकल अवस्थामा छ । यो त्यस्तो संक्रमणकाल हो जहाँ हामीले सोच र सोचको बास्तवविक उपयोग गर्न सक्यौं र विकास तथा निर्माणका कार्यमा दीगो लक्ष्य राखेर अघि बढ्यौं भने भोलि आउने पुस्ताका लागि हाम्रो देशको भविष्य स्वर्णिम् छ नत्र फेरि स–सानो कुरामा कचिङ्गल सुरु भयो भने नेपाल उही पुरानै गोलचक्करको राजनीतिमा भासिन बेर लाग्दैन ।
अहिले नेपालमा युवालाई आराम र बूढालाई कामको उल्टो स्थितिमा छ । विश्वप्रसिद्ध राजनेता नेल्सन मण्डेला सँधै भन्ने गर्दथे– ‘युवालाई काम बूढालाई आराम ।’ सरकार अहिले बूढापाकाहरूलाई दिन्छु भनेको सुविधा पनि नदिएर सडकमा उतार्दै छ । जेष्ठ नागरिकहरूको सडकमा आउने रहर पक्कै होइन, बाध्यता हो । युवाहरू पनि समूल रुपमा नाखुस भएको अवस्था छ । विदेशका भरिया, श्रमिक, मजदुर र शारीरिक श्रम गर्ने सामान्य मानिसका रुपमा ठूलो जेट चढेर युवाहरू बाहिरिँदैमा पक्कै देश विकसित भएको ठानिदैन । सीप भएका युवाहरूलाई देशले देशभित्रै रोजगारी, उद्योगधन्दा र कलाकारखानाको उचित प्रबन्ध गरिदिन सक्नु पर्दथ्यो । त्यो भएको देखिएन ।
युवाहरू तीनथरीका छन् ः पहिलोथरीका क्यालिभर भएका युवाहरू फष्ट कन्ट्री जाने सोच राख्छन् । तिनीहरू ती देशको भिजाका लागि मरिहत्ते गर्छन् । भिजा लाग्यो भने देशभक्तिका गीत गुन्गुनाउँदै विदेश भासिन्छन् । दुईचार वर्ष विदेश बसेपछि नेपालको विगत् र वर्तमानको बयेलिएको अवस्था देखेर तीन छक्क पर्छन् र विदेशमै सेटल हुुने मानसिकता पाल्दछन् ।
दोस्रोथरीका युवाहरू सकेसम्म सीप र विद्वता हासिल गर्नका लागि विदेश ताक्छन् । पैसा कमाएर स्वदेश फर्कनु र देशमै केही नयाँ काम गर्ने तिनीहरूको इच्छा हुन्छ । तिनीहरू पाँच–दस वर्षका लागि विदेश जान मरिहत्ते गर्छन् । विदेशी राजदूतावासको भवनको चक्कर काट्नु नै तिनीहरूको दिनचर्या हुने गर्छ । जापान, मलेसिया, कोरिया र युरोपका देशमा हान्निएका युवाहरूले देशमा फर्केर केही राम्रो काम पनि गर्न सकेका छन् । तिनीहरूको सिको गरेर अरु युवाहरू पनि देशमै केही नयाँ तरक्की गरी आइडल बन्न खोज्दै छन् ।
तेस्रोथरी युवाहरू खाडीका देश र थर्ड कन्ट्रीका भिजाका लागि भएभरको जायजेथा बेचेर या आफूसँग जेथा नभए रिनपानमा पनि ती देश जाने इच्छा राख्ने गर्छन् । तिनीहरूलाई आफ्नो परिवारको जहाजलाई सकुशल व्यवहारका समुद्रमा तैराउने ध्याउन्न हुन्छ । दुईचार वर्षका लागि विदेश गएर केही रकम कमाई आफ्नो र परिवारको उन्नति गर्नु उनीहरूको ध्येय हुने गर्छ । यी युवाहरू विदेशमा एजेन्टबाट र स्वदेशमा सरकारबाट पनि धेरथोर मात्रामा शोषित भएका छन् । यिनीहरूसँग बुद्धिभन्दा बल अधिक छ । बलका आधारमा आफ्नो मानो पकाउने उनीहरूको सोच हुन्छ । अहिले आएको रेमिट्यान्स तिनीहरूको खुन पसिना एकठ्ठा गरेर हो । सरकार पनि तिनीहरूकै धनमा तर मारिरहेको छ ।
अबको शासनले तिनैथरी युवाहरूलाई देशमा थेग्ने वा अड्याउने तरक्कीको खाँचो छ । अतुल सम्भावनाको जोरसन्धिमा नेपाल उभिएको छ । नेपालले अहिले आफ्नो परिचय विश्व मञ्चमा राख्न कसैको फेसको आधार लिनु पर्दैन । नेपाललाई आफ्नो असल मित्र मान्ने सहृयदी मित्रहरू विश्वभरि नै लाखौंलाख छन् । प्लान, प्रोजेक्ट र प्रोडक्टको सिक्वेन्स मात्र मिलाउन जान्नु पर्छ नेपाल शततः अघि जान सक्छ ।
सरकार गठन विगठनका फोहोरी खेलहरू करिबकरिब अब बन्द भएको अवस्था छ । यो घडीमा नेपालले सत्ता, प्रतिपक्ष वा ससाना भुरेटाकुरे दल नभनीकन सबैको मन मिलाएर एक ढिक्का भई परराष्ट्र नीतिको तय गरेर अघि जान सक्यो भने दस, बीस र तीस वर्षमा अबको नेपालले पक्कै फड्को हान्ने छ । यसमा कसैको दुईमत छैन तर त्यसै अनुसारका आईटी बेसका प्लान हुनु पर्यो । युवाहरूको दिल र दिमागलाई जित्न सक्ने भिजन, मिसन र गोल भएका योजनाहरू सिंहदरबारदेखि स्थानीय सरकारका ढोकाढोकासम्म आइपुग्नु पर्यो । यो सब डोर्याउने काम सरकारको हो । रचनात्मक प्रतिपक्षको हो । अब पनि यो वा त्यो बहानामा देश अघि बढ्न सक्दैन । यो चाहिँ पक्का हो ।
प्रतिक्रिया दिनुहोस्