१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


इलाममा प्रदेशस्तरीय युवा महोत्सव हुने, यस्तो छ तयारी (भिडियो)


0
Shares

काठमाडौं, असार १२ । जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गते इलाममा ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सव” हुने भएको छ ।

महोत्सवका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ ।

युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरको अध्यक्षतामा गठित मूल समारोह समितिको सचिवालय जिल्ला युवा समितिको कार्यालयमा रहने बताइएको छ ।

सचिवालयमा उपसमितिका संयोजकहरु, जनप्रतिनिधि, राष्ट्रिय मान्यताप्राप्त दलका युवा, विद्यार्थी संगठनका अध्यक्षहरुसहित २७ सदस्यीय सचिवालय गठन गरिएको छ ।

महोत्सव सम्पन्न गर्नकै लागि उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेलको अध्यक्षतामा स्रोत व्यवस्थापन तथा परिचालन, पत्रकार महासंघ इलामको अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा प्रचार–प्रसार, जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक एक्तेनको अध्यक्षतामा सांस्कृतिक झाँकी तथा भेषभूषा, प्रेम केसीको अध्यक्षतामा ललितकला प्रदर्शनी उपसमिति गठन गरिएको छ ।

कार्यक्रमका लागि स्वसेवक परिचालन उपसमितिको युवा सूचना केन्द्र, सांस्कृतिक कार्यक्रमको संयोजन हेमराज ढकाल र भरोसा नेपाल, युवा कवि सम्मेलन र गजल मेलाको फरक आयाम, नाटक प्रदर्शनीको चेतना नाट्य समूह, अतिथि सत्कार तथा साजसज्जाको हरित नगर महिला समूह, गुड मर्निङ्ग नेपाल र क्वीन इलाम, मंच तथा स्टल व्यवस्थापनको सुनचाँदी व्यवसायी संघ, डकुमेण्टेशनको हरि गुरुङ्ग, राजेश पराजुली, सुदिप श्रेष्ठ, गोपाल दाहाल र सन्दीप प्रधान, चित्रकला प्रतियोगिताको गणेश खतिवडा, खेलकला प्रदर्शनको जिल्ला खेलकुद विकास समिति र मैत्रीपूर्ण क्रिकेट संचालन उपसमितिको जिम्मा जिल्ला क्रिकेट संघ र द पियर फाउण्डेशनलाई दिइएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन इलाम सदरमुकाममा मिनी म्याराथुन, महोत्सव उद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम सम्पन्न गर्ने तय गरिएको छ

यसैगरी दोस्रो दिन युवा कवि सम्मेलन, १ नं. प्रदेशस्तरीय युवा सम्मेलन, युवा परियाद् र जिल्ला युवा समितिको कार्यालयहरुबीच अनुभव आदान–प्रदान र सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।

महोत्सवको तेस्रो दिन मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवा उद्यमीबीच अनुभव आदान–प्रदान, सांस्कृतिक कार्यक्रम र समापन समारोह हुने आयोजक जिल्ला युवा समितिको कार्यालय इलामले बताएको छ ।

इलाम सदरमुकामस्थित चोक बजारमा महोत्सवका २५ वटा स्टलहरु रहने बताइएको छ । प्रदेश नं. १ का १४ वटै जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी स्टलहरु राखिने बताइएको छ ।