
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले टेलिकमभित्र ‘मुसा वा मुसा प्रवृत्ति’ले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने–‘टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घन्टा कर्मचारी खट्नुपर्ने भन्दै त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न निर्देशन दिए ।
टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाए ।
‘यस कामकाबारेमा गुनासा आएका छन् । यसको काम जहाँ पुगेको छ, त्यहीँ रोक्नुहोस्’–प्रधानमन्त्री ओलीले भने–‘यसकाबारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’
प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए ।
‘टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन्’–उनले भने–‘त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस् ।’
टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरे ।
‘सेवा सुधारको प्रस्ताव ल्याउनुहोस् । चुहावटको प्रस्ताव ल्याउनुहोस्’–प्रधानमन्त्री ओलीले भने–‘अनियमितता नगर्नुहोस् । गर्नेलाई नछोड्नुहोस् ।’
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्