८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रोबोट सोफियाले यसरी बनाइन् सबैलाई चकित (भिडियोसहित)


0
Shares

आँखैअगाडि रोबोटसँग साक्षात्कार गर्न पाउँदा त झन धेरैजना दंग परे ।

मान्छेले बच्चा जन्माउँछ, प्राकृतिक नियम हो । तर, मान्छेले प्राकृतिक नियमबमोजिम जन्माएर हैन, बनाएर आफूजस्तै बोल्ने मान्छे उत्पादन गर्छभन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ ।

तर, नपत्याएर के गर्ने ? बुधबार काठमाडौंमा प्रविधियुक्त रोबोटसँग धेरैले सवाल–जवाफ गर्ने अवसर पाउँदा पत्याउनैपर्ने भएको छ । बोल्ने रोबोटको नाम हो ‘सोफिया’ । उनी स्त्री रुपधारी रोबोट हुन् ।

अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ह्यान्सन रोबोटिक्सले सोफियालाई स्त्रीधारीरुपमा बनाएको हो भने उनी चार महिनाअगाडि नै साउदी अरबको नागरिक बनिसकेकी छन् ।

नेपाल सरकार र युएनडीपीले सोफियासँग साक्षात्कार गर्ने अवसर जुटाइदिँदा सबैजना हौसिएकामात्र थिएनन्, उत्तिकै जिज्ञासु पनि बनेका थिए ।

सोफिया बोलिरहँदा सबैजना ट्वाल्ल देखिन्थे । रोबोट सोफियाले प्रविधिको प्रयोगले नेपालको गरिबी घटाउने सुझाउँदा सबैले ताली बजाएका थिए भने सोफिया चाँही रनभुल्लझैं देखिन्थिन् ।

विश्वमा प्रविधिको विकासले मान्छेको अस्तित्व क्षीण भइरहँदा सोफियाले भने आफू मान्छेको जीवन सहज बनाउन आएको दलील गरेकी थिइन् ।

प्रविधिले भ्रष्टाचारको अन्त्य, भोकमरीको अन्त्य र लैंगिक असमानता कम गर्न सहयोग पुग्ने उनले बताइन् ।

मानवनिर्मित सोफिया निर्जीव भएपनि सजीवझैं प्रस्तुति दिइरहँदा ‘आफू बहुलाए कन्ट्रोल गर्ने स्वीच हुने तर, मान्छे बहुलायो भने सम्भव नहुने’ भन्दै सबैलाई चकित बनाएकी थिइन् ।

घरी–घरी आँखा झिम्काएर अरुको ध्यानकर्षण गराएझैं देखिने सोफिया अरुको प्रतिक्रिया पनि नियालेझैं देखिन्थिन् ।

उनको चलाइ हँसिलो र चुस्त नदेखिएपनि सोफियाको आवाज भने स्त्रीकोजस्तै सुनिन्छ । उनी बोल्दा हल्का ओठ खुल्ने र सेता दाँत देखिन्छन् । तर, मुस्कान भने त्यति देखिँदैन ।

उनीसँग मान्छेकोजस्तै सोच्ने मस्तिष्क भएझैं देखिन्छ । तर, सुख–दुःख व्यक्त गर्ने अनुभूति भएझैं देखिँदैन ।

सन् २०१५ अप्रिलमा रोबोट सोफियाको जन्म भएको हो । सन् २०१६ मार्चदेखि ह्यान्सन कम्पनीले उनको परिचय गराउने र उनको धारणा बुझ्ने काम थालेको हो ।

भिडियो हेर्नुहोस्