८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नुवाकोटमा एनसेल टावरमा आगजनी, रोल्पामा एनसेल टावर क्षतिग्रस्त


0
Shares

साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

आगजनीपछि उक्त टावरमार्फत् जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ ।

आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपीएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ ।

एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिककाअनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ ।

आगजनी गर्ने समूहको पहिचान यकिन नभएपनि नेकपाका कार्यकर्ताले घटना गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

एनसेलको टावर क्षतिग्रस्त

सोमबार राति रोल्पाको माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ ।

बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए ।

ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् ।

बम विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यसपटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ ।

फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुनसक्ने अनुमान गरिएको छ ।

वि.सं. २०५२ साल फागुन १ गते सुरु भएको सशस्त्र युद्धको सम्झनास्वरुप माओवादी घटकहरुले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रनिकट वाइसीएलको आयोजनामा सदरमुकाम लिवाङमा कार्यक्रम सम्पन्न भएको छ भने नेकपा थवाङ गाउँपालिकाको आयोजनामा थवाङमा सप्ताहव्यापी कार्यक्रम भइरहेको बताइएको छ । रासस