८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बुधबार बेलुकी चन्द्रग्रहण, १५२ वर्षपछिको खगोलीय घटना, के गर्न हुन्छ ? के हुँदैन ?


0
Shares

यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘शास्त्रीयरुपमा बालक, वृद्ध र रोगीबाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ’–उनले भने ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुलेमात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।

समितिले स्वीकृत गरेका यस वर्षका पञ्चांगमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुईपटक पूर्णचन्द्र देखिने (ब्लु मुन)को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

‘बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घन्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खन्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ’–उनले भने ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्नसकिने सोसाइटीले जनाएको छ ।

आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ ।

जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।

स्वस्थानीको उद्यापन बिहानै
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने प्रा. डा. गौतमले बताए ।

८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्नसक्ने समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी सुरु गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले जानकारी दिए ।

बिहान ७.३० बजेदेखि नै नित्य पूजापाठ गरेर व्रत समापन सुरु गरिने समितिले जनाएको छ ।

यही माघ १८ गते वर्तालुलाई भोज खुवाएपछि एकमहिने माधवनारायण मेला समापन हुनेछ ।