
राजु चौधरी (इमेज)
चितवन, असार १४ । प्रदेश नम्बर–३ ले बिहीबारदेखि वि.सं. २०७५ लाई फलफूल वर्षकारुपमा मनाउने भएको छ ।
प्रदेश–३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फलफूल वर्ष २०७५ को शुभारम्भ गरेको हो ।
बिहीबार प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका–११ आँपपानीमा २०० चिउरीको बिरुवा रोपेर फलफूल वर्षको शुभारम्भ गरे ।
प्रदेशका सबै नागरिकलाई स्वरोजगार बनाउने उद्देश्यका साथ फलफूल वर्ष सुरु गरिएको मन्त्री लामाले बताए ।
नेपालमा वर्सेनि करोडौंको फलफूल आयात हुने गरेकाले त्यसलाई कम गर्दैै नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन अभियान सार्थक बन्ने विश्वास उनले व्यक्त गरे ।
सामुदायिक वनलाई उत्पादनशील बनाउन फलफूल खेतीको विकल्प नरहेको मन्त्री लामाले बताए ।
सबै जनतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नका लागि पनि फलफूल रोप्ने अभियान सन्चालन गरेको उनले जानकारी दिए ।
उनले युवालाई रुचिअनुसारको तालिम दिएर कृषिउद्यमी बन्नेतर्फ अग्रसर गराइने बताए ।
युवालाई नेपालमै बसेर नेपालमै केही गर भन्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रम पनि सन्चालन गरिएको मन्त्री लामाको भनाइ छ ।
वनमा रोपिएका बिरुवाको संरक्षणको दायित्व स्थानीयको हुने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । चिउरी रोपेसँगै चितवनमा मौरीपालन फस्टाउने मन्त्री लामाको विश्वास छ ।
यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको बताए ।
उनले प्रदेश नम्बर–३ को सम्मृद्धि नै कृषि, पर्यटन र जलविद्युत्बाट सम्भव भएकाले कृषिलाई सबैभन्दामाथि राखिएको बताए ।
चितवनको पहाडी क्षेत्रमा चिउरीको राम्रो उत्पादन हुने गरेको छ । चितवनको ३० हजार हेक्टरमा पाँच हजार चिउरीको बिरुवा रोपिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए ।
प्रदेशका ५० ओटा स्थानीय तह र २०० सामुदायिक तथा कबुलियती वनसँग मिलेर फलफूल रोप्ने अभियान सन्चालन गरिएको उनले बताए ।
प्रदेशका ४५० युवालाई तालिम दिएर फलफूल रोप्नका लागि आंशिक रोजगारको व्यवस्थासमेत गरिएको उनले बताए । चितवनमामात्रै चिउरी रोप्नका लागि १६ जना युवा परिचालन गरिएको छ ।
स्वास्थ्यका लागि चिउरीको मह लाभदायक हुने भएकाले यसको माग बढ्दो छ । पहिला चेपाङहरुलेमात्र प्रयोग गर्ने चिउरी समयक्रमसँगै बहुआयामिक जडिबुटीजन्य औषधि बन्न पुगेको छ ।
चिउरीको घिउ कोलस्ट्रोलरहित हुने हुँदा मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । चिउरी बजारमा प्रतिकेजी ७० रुपैयाँको दरले बिक्री हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्