८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चीनको इन्टरनेट सञ्जलासँग जोडियो नेपाल, भारतीय एकाधिकार तोडियो


0
Shares

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यावसायिक सन्चालनमा आएको हो ।

नेपाल चीनसँग इन्टरनेट सञ्जालमा जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ ।

शुक्रबार टेलिकम कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्तरुपमा सो नेटवर्कको उद्घाटन गरे ।

अब नेपाल भारत र चीन दुवैतिरबाट विश्वसँग जोडिएको टेलिकमले जनाएको छ ।

२०१६ डिसेम्बर ६ मा अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्ने विषयमा सम्झौता भएको थियो ।

रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । चीनसँग स्थलमार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट अरु देशका सेवा प्रदायकसँग पनि जोडिन सहज हुने टेलिकमले जनाएको छ ।

तत्कालका लागि १.५ जीबीपीएस ब्यान्डविथ ल्याएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।

चिनियाँ स्थलमार्ग हुँदै हङकङमा रहेको सर्भरबाट वितरण भएको ब्यान्डविथ नेपाल टेलिकमको रसुवागढी–केरुङ फाइबर मार्गबाट आउने जनाइएको छ ।

चीनबाट इन्टरनेट ल्याएपनि ब्यान्डविथको मूल्य भने भारतबाट ल्याएसरह नै भएको बताइएको छ ।

चिनियाँ इन्टरनेट भारतीय कनेक्सनभन्दा तीव्र हुने टेलिकमका अधिकारीले बताएका छन् ।