
केशव भण्डारी (इमेज)
बुटवल, असार १४ । प्रदेश नम्बर–५ को आगामी आर्थिक वर्षको बजेट बिहीबार प्रदेशसभाबाट पारित भएको छ ।
प्रदेश सरकारले गत असार १ गते सार्वजनिक गरेको २८ अर्ब रुपैयाँ बराबरको बजेट पारित भएको हो ।
आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक पारितका लागि पेस गरेका थिए ।
सभामुख पूर्णबहादुर घर्तीले निर्णायार्थ पेस गरेको बजेट सर्वसम्मतिले पारित भएको हो ।
त्यसअघि, सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति भएपछि बजेटमाथिको छलफल अघि बढेको थियो ।
सत्तापक्षले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएसँगै विपक्षी कांग्रेसका प्रदेशसभा सदस्यले विनियोजन विधेयकमाथिको प्रक्रियामा बिहीबार भाग लिएका थिए ।
सत्तापक्षले एकलौटी गरेको भन्दै बुधबार कांग्रेस सदस्यहरुले छलफल बहिस्कार गरेका थिए ।
विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले सरकार सबैसँग समन्वय गरेर अघि बढन तयार रहेको भन्दै सदनको विधि र प्रक्रियालाइ ख्याल गर्न विपक्षीहरुलाई आग्रह गरे ।
त्यसअघि, प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रदेशका मन्त्रीहरुले पनि बजेटले ५ नम्बर प्रदेशको विकास र समृृद्धिमा सघाऊ पुर्याउने दाबी गरे ।
प्राकृतिक प्रकोपबाट भएको क्षतिपूर्तिको राहतसम्बन्धी मापदन्ड
यस्तै, बिहीबारै बसेको प्रदेश नम्बर–५ मन्त्रिपरिषदको बैठकले प्राकृतिक प्रकोपबाट भएको क्षतिपूर्तिको राहतसम्बन्धी मापदन्ड पनि बनाएको छ ।
जसमा प्राकृतिक प्रकोपबाट मृत्यु भएमा तिनका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिनेलगायतका विषय समेटिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
प्राकृतिक प्रकोपबाट पशु–चौपायाको मृत्युमा पनि ५० हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने मापदन्ड बनाइएको हो ।
प्राकृतिक प्रकोपमा घाइते हुनेले बिलअनुसार सरकारी अस्पतालको उपचार खर्च पाउनेछन् भने घर भत्केर नस्ट भए प्रतिघर ३५ हजार नगद वा तीन बन्डल जस्तापाता पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्