९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सत्ताको तिजोरी र ‘बोन्साई कांग्रेस’


0
Shares

नेपाल त्यसैउसै प्रक्रियाको घुमाउरो माखे साङ्लामा बाँधिएको देश, यहाँ तलदेखि माथिसम्मै भनेका बेला झाट्टझुट्ट काम नहुने महारोग छ । हुने र सजिला कामहरू पनि अनेक बखेडाका सिकार हुने गर्छन् । अझ यो त सरकार हस्तान्तरण गर्ने विषय हो । यसका पनि विधि र प्रक्रिया भएकाले एकपछि अर्का अनेक झमेला र तिकड्महरू तेर्सिएका देखिए । चुनावपछि लगत्तै सरकार गठनका लागि प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्नेजस्ता मुख्य कामहरू चुनावअघि भएकै रहेनछन् ।

जनताले भनेअनुसार निर्वाचन आयोगले पनि भटाभट काम नगरिदिनाले र पार्टीहरूमा राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी आ–आफ्ना पक्षमा संविधान व्याख्या गर्दै प्रक्रियामा विवाद देखाउनाले राष्ट्रपतिबाट ढिलो गरी विधेयक प्रमाणीकरण भयो । बल्ल कामहरूको मेसो ढिलै भए पनि मिलेको छ । जनता सरकार गठन भएको देख्न आतुर छन् ।

चुनावमा व्यापक धन, मन र जन लगानी गरेका नवविजेता जनप्रतिनिधि केन्द्र र प्रदेश सभाका शपथग्रहण नगरेका ‘भर्जिन’ (?) याने ‘अन टेष्टेड सांसदहरू’ यतिखेर काठमाडौँको जाडाले सेकिएर कहिले राष्ट्रियसभा चुनाव होला र शपथ लिएर माननीय हुन पाइएला भनी बसेका छन् । परिस्थितिलाई नेपाली उखानले घुमाउरो गरी भन्छ– ‘हात्ती छि¥यो पुच्छर अड्क्यो ।’

यतिखेर हात्ती विम्ब एमाले–माओवादी एकता र आसन्न वाम गठबन्धनको सरकार हो । पुच्छर अड्किएको प्रसङ्गचाहिँ निर्वाचन आयोगको रहस्यमय अलमल र सरकारको केही महिना, हप्ता, दिन या छिन भए पनि सत्तामा लिसोझैँ टाँसिरहने कुचाल हो ।

दुनियाँलाई थाहा छ– शेरबहादुर देउवा त्यस्तो पार्टी कमाण्डर हुन् जो आफू जितेर पनि पार्टीलाई हराउन सक्षम भए ! कतिपयले उनलाई व्यङ्ग्य भावमा ‘बोन्साई कमाण्डर’ भने । एमाले–माओवादीले चुनावी विजयको छलाङ् लगाउँदा प्राविधिक जनमत हुँदाहुँदै पनि उनको पार्टीले सर्मनाक हार व्यहोर्नु पर्‍यो । एजेन्डाविहीन चुनावी संग्रामका महारथी, टिकट वितरणमा चुलिएको भाँडभैलो, गठबन्धनको चेपुवा रणनीति, झुरिएको संगठन र वैचारिक स्खलनको मारमा परेको जीर्ण पार्टी बोकेर उनी चुनावमा जाँदा परिणाम सुखद् होला भन्ने कल्पना कमैले गरेका थिए । भैदियो पनि त्यस्तै । अतः यतिखेर देउवामा रुन्चे हाँसो भाग लागेको छ । एमाले–माके गठबन्धन सरकारको राप र तापमा अब केही वर्ष कांग्रेसको शाख क्रमशः ओरालो झर्ने पूर्वानुमान गरिँदै छ । ‘विचार, व्यवहार र संगठनमा समयानुकूल आक्रमकता नल्याउने र युवालाई कांग्रेसमा नतान्ने हो भने कांग्रेस ‘नोकिया मोबाइल’ बन्ने निश्चित छ’ –राजनीतिक विश्लेषक पुरञ्जन आचार्य खरो शैलीमा भन्छन् ।

दोस्रोचरण चुनाव सकिएको एक महिना नाघिसक्यो । चुनाव अघि नै एकताको विन बजाउने एमाले–माकेका पहिलो पुस्ताका नेता औशतमा चुपचाप छन् । दोस्रो पुस्ताका नेताका चाहिँ एकता भाँड्ने खालका रङ्गीन विचारहरू अखबारमा तारन्तार आइरहेकै छन् । उसले उसलाई आरोप र फत्तुर लगाइरहकै छन् जसका कारण सरकार गठनमा झन् ढिलो झन् ढिलो हुँदै छ । यसैबीच अनेक खालका तर्क, कुतर्क र अनर्गल बहसले राजनीति तताउने काम गरेका छन् । ‘एउटा संक्रमण सकाएर अर्को संक्रमणको थालनी नै यो संघीयतारुपी नाटकको मञ्चन हो जो विदेशी शक्ति र प्रभुको इसारामा सञ्चालित छ । पाँच वर्षसम्म देश यही हालतमा जस्ताको तस्तै रह्यो भने त्यो पनि ठूलो उपलब्धी मान्नु पर्छ ।’–संविधानविद् डा. भीमार्जुन आचार्यको पृथक् तर्क रहेको छ ।

सत्तास्वार्थका लागि एमाले–माके दुवैले दुवैलाई झुक्याइरहेका छन् । ‘कांग्रेसको समर्थनमा म प्रधानमन्त्री बन्दिनँ’ –प्रचण्डले हालै भने । उनको भनाइलाई व्यञ्जनापरक भावमा समर्थन गर्दै बार्गेनिङ् शैलीमा सोही पार्टीका दोस्रो पुस्ताका नेता देवेन्द्र पौडेल भन्छन्– ‘पावर सेयरिङ्मा एकीकरण अघि बढ्छ । दुई कार्यकारी पद (प्रधानमन्त्री वा पार्टी अध्यक्ष) मध्ये एक कार्यकारी पद माओवादी केन्द्रलाई चाहिन्छ ।’ यो भनाइको अन्तर्यमा रहेर विश्लेषण गर्ने हो भने तत्काललाई दुवै पार्टीको एकीकरण सम्भव नहुन सक्छ । एकीकरण अलमलले नै सरकार गठनमा विदेशी चलखेल निम्त्याउने हो ।

एक महिनाको समयावधिभित्र भारतले तीन प्रमुख दललाई भित्रभित्रै नचाई सकेछ । भारतीय प्रम मोदीले कूटनीतिक भाषामा ओलीलाई बधाई दिँदादिँदै पनि ऊ मधेशीसहितको केन्द्रीय सरकार गठनका पक्षमा रहेको संकेत बाहिर आइसकेको छ । उपेन्द्र यादवको संघीय समाजवादी फोरम र राजेन्द्र–महन्थको राजपाबीच एकीकरण प्रयासमा भनिएको– ‘राजपा भन्छ चाँडै मिलौं, फोरम भन्छ हुन्न–हुन्न’ त्यसकै अभिव्यक्तिगत् कडी रहेको जानकारहरू बताउँदछन् ।

राजनीतिक ‘यु टर्न’ मा महारथ प्राप्त पुष्पकमल दहाल यो दसककै चर्चित र प्रभावशाली नेता हुन् । एकादुई राष्ट्रिय घटनालाई छाडेर दशकका प्रभावशाली राजनीतिक घटनाहरूको गहन विश्लेषण गर्दा प्रचण्डले आफ्नो खुला राजनीतिक सफरमा गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्म र एक वर्षयता शेरबहादुर देउवा र केपी ओलीलाई समेत प्रकारान्तरले गज्जबले प्रयोग, परीक्षण र आफ्ना पक्षमा नतिजा ल्याउन मज्जैले युज गरेका छन् । यसमा कुनै शंका छैन तर अहिले प्रचण्डलाई थेगिनसक्नुको भित्रीबाहिरी दवाव बढ्दो छ ।

केही दिनअघि मात्र रिपोटर्स क्लबमा कांग्रेस नेता रमेश लेखकले हँसिलो मुखमुद्रा लगाएर भने– ‘प्रचण्डलाई पाँच वर्षे प्रधानमन्त्री मान्न हामी तयार छौं ।’ एकातिर प्रचण्डको परिस्थिति देशको दुईमध्ये एक कार्यकारी बन्नै पर्ने देखिएको छ भने अर्कातिर यहाँसम्म यो हाइटमा दुःख गरेर ल्याइपुर्‍याएको पार्टीलाई सोलोडोलो रुपमा एकीकरणका नाममा एमालेमा मिसाउँदा हुने मानसिक हानिको पनि उनले राम्रैसँग मूल्याङ्कन गरेका हुँदा हुन् । ‘अबको लक्ष्य : विकास र समृद्धि’ भन्ने एमालेका नारामा उनी आफ्नो पार्टीको भविष्य देख्छन् देख्दैनन्, त्यो कुरा भविष्यलाई छाडिदिँदा पनि तत्काललाई बँचे खुचेका संक्रमणका कुँडाकर्कटहरू आफल्न समेत उनलाई एउटा कार्यकारी (कि प्रम कि पार्टी अध्यक्ष) नभई भा’को छैन ।

‘रात रहे अग्राख पलाउँछ’ भन्ने आहानलाई चरितार्थ पार्न थालेका छन् अहिले हरेक दिन आउने नेता उपनेताका बोलीहरूले । एमालेका पढैया नेताका विशेषण पाएका घनश्याम भुसालले अङ्ग्रेजीको ट्याग कोइसन शैलीमा फ्याट्ट भनिदिए– ‘जबज र माओवादको डेट सकियो ।’ उता चर्चित साहित्यकार तथा माओवादी नेता विश्वभक्त दुलाल ‘आहुती’ चाहिँ ‘नेपालको कम्युनिष्ट आन्दोलन विसर्जन भयो’ भन्ने शैलीको अन्तर्वार्ता दिन्छन् । भुसालमा ‘पार्टी एकीकरणको तीव्र हुट्हुटी’ देखिन्छ भने आहुतीमा ‘एकीकरण पछिको सिद्धान्तहीन राजनीतिको यात्रा हुने गहिरो भय ।’ जनताले यी दुवै पार्टीलाई दिएको यत्रो भारी मतको सम्मान कथम्कदाचित हुन सकेन भने त्यसले उत्पन्न गर्ने चौतर्फी राजनीतिक सुनामीलाई जर्जर देशले थेग्न सक्ला नसक्ला त्यो अहिले यसै भन्न सकिन्नँ । ‘प्रदेश सरकार सञ्चालन र प्रादेशिक खर्च आंकलन गर्दा त्यसले नकट भविष्यमै अर्थतन्त्रको डंका बजाउने निश्चितप्रायः छ । संघीयताका नाममा हामी सुपर्णखाको मुखमा शनैःशनैः पर्न गैरहेका त छैनौं’ आर्थिक क्षेत्रका जानकारहरू बताउन थालेका छन् ।

फेरि अर्को कुरा पनि छ । ‘विकास भनेको ‘सिष्टम’ नभएर ‘सिष्टम डेलिभरी’ हो । विकासविद्हरूको आग्रह यसप्रकारले देखिँदा छन् । अहिले देशमा दुवै थोकको आवश्यकता भए पनि दोस्रो डेलिभरीको कुरा पहिलो प्राथमिकतामा पर्दछ । यसैगरी अलमल र ढलपलका दैनन्दिन रुटिनलाई पच्छ्याउँदै नेपाली राजनीति अघि बढ्यो र त्यसले संसदमा राष्ट्रिय पार्टीका रुपमा स्थापित पाँच पार्टी बीचमै कहिले कोसँग, कहिले कोसँग समिकरण भई सरकार गठन विगठनको चक्रीय आरम्भ शुरू हुने र फेरि अचम्म लाग्दा खेलहरू नै दोहोरिने पूर्वाभाष घनिभूत रुपले देखिँदैछ ।

‘प्रचण्ड तुरुपका एक्का हुन् । उनले आफ्नो पार्टीलाई बचाउन एकीकरणको खेल खेले । अस्थिर प्रकृतिका नेता प्रचण्ड सत्ता र शक्तिमा रमाउन चाहने नेता हुन तर चाहेर होस् या नचाहेर देशको यो दशकको राजनीति उनकै इर्दगिर्दमा घुमिरहेको छ । उनले कांग्रेससँग मिलेर भरतपुरमा छोरीलाई मेयर बनाए । जब परिस्थिति बद्लिएको भान भयो अनि डुब्न लागेको आफ्नो पार्टीलाई राष्ट्रिय पार्टीको हैसियत दिलाउन एमालेसँग चुनावी साँठगाँठ गरे । विदेशी प्रभुको दबाव थेग्न सकेनन् भने जहाँ र जतिसुकैखेर पनि उनी बद्लिन सक्छन् ।’ राजनीतिक घटनामा तीखो र वस्तुपरक टिप्पणी गर्दै आएका कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि समेत गरेका प्रा.डा.सुरेन्द्र केसीको अर्को विश्लेषण रहेको छ ।

यी सबै तर्कवितर्क र चिन्तनभन्दा पर एउटा ‘ले म्यान’लाई भने गरिखानेका हितमा सरकार गठन भई ‘सर्भिस डेलिभरी’ फटाफट होऊन भन्ने आकांक्षाहरू रहेका छन् । किनारीकृत जनताको चाहना पनि यही हो । व्यक्ति जो सुकै सुप्रिम हुन् ‘बाल मतलव’ तर सेवा सजिलो, भरपर्दो र शीघ्रातीशीघ्र गाउँ ठाउँकै अड्डा गाउँपालिका र नगर पालिकाबाट पाइयोस् र सरकार आफ्नो वरिपरि भएको आभाष होस् अहिले जनतालाई यत्ति कुरा चाहिएको छ । समृद्धि र सुशासन त दसकौं पछिका अन्तर्चाहनामय विषयादि हुन् । अहिले सर्वत्र चुलिएको चासो ‘झटपट र फटाफट सिष्टम डेलिभरि’ नै हो । अब बन्ने सरकारले यो कुरामा गहिरो हेक्का राख्नु जरूरी पनि छ ।