१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


तारानाथ शर्मालाई पृथ्वी प्रज्ञा पुरस्कार


0
Shares

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’लाई पुरस्कार प्रदान गरिएको हो ।

प्रथम हुनेलाई रु ३० हजार, द्वितीयका लागि रु २५ र तृतीयका लागि रु २० हजारसहित पदक दिइएको छ । गत असार ९ गते प्रतिष्ठानको ६०औं वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा ती कवि पुरस्कृत घोषित भएका थिए ।

समारोहमा प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा.डा.तारानाथ शर्मालाई प्रदान गरियो । सो पुरस्कार प्रत्येक चार वर्षमा एकपटक दिइन्छ ।

यस्तै, प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने रु एक एक लाखको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्रा.डा.वीणा पौडेल र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा.रामावतार यादवलाई प्रदान गरियो । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ सालका लागि विमल निभा तथा २०७४ सालका लागि धु्रव सापकोटालाई दिइयो ।

त्यस्तै, रु एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ अब्दुल लतिफ शौक (उर्दू भाषा) र २०७४ सालको सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइयो । पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार–२०७३’ का लागि पदम राई र २०७४ सालका लागि धनबहादुर माझीलाई प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक क्षेत्रको यथोचित रुपान्तरण र प्रवद्र्धनमा स्रष्टाहरुले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजानका लागि प्रतिष्ठानलाई थप अग्रसरता देखाउन आग्रह गरिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले असल भाव र सन्देशका कविताले युगलाई सकारात्मक प्रभाव पार्ने बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकीलगायत दक्षिण एशियाका विभिन्न प्राज्ञिक निकायसँग सहकार्य बढाउन पहल गरिएको अवगत गराए । सम्मानितमध्येका डा.शर्माले पृथ्वीनारायण शाहको वीरताका कारण नेपाल एकीकरण सफल भएको बताए । रासस