९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


निरंकुशता ल्याउने कि लोकतन्त्र बलियो बनाउने ?


0
Shares

हुनत एकताको कुरा नयाँ होइन, ०६४ सालमा सम्पन्न माओवादीको कामीडाँडा बैठकले नै नेपालमा कम्यूनिष्ट केन्द्र स्थापना गर्ने सर्तमा बृहत बामबन्थी एकताको प्रस्ताव पारित गरेको थियो । तर तत्कालिन अवस्थामा एमाले नेतृत्व त्यसमा सहमत नहुँदा माओवादीको प्रस्तावले सार्थकता पाउन सकेको थिएन । आज चलेको एकीकरणको बहस पनि त्यसैको निरन्तरता मान्न सकिन्छ । तर कांग्रेस-माओवादी गठबन्ध गरेर सरकार चलाईरहेको, स्थानीय तहका तीनै चरणको निर्वाचनमा तुलनात्मक रुपमा कांग्रेस र माओवादी बीच नै तालमेल रहेको अवस्थामा एमाले र माओवादी दुई पार्टी बीचको एकताको घोषणा अप्रत्याशित लाग्नु भने स्वभाविक हो । तर विचार र कार्यदिशाका हिसावले उनीहरुको एकतालाई यति हाउगुजी मान्नुपर्ने अवस्था भने हुँदै होइन ।

र, अहिले बजारमा अवको निर्वाचनमा एमाले र माओवादी मिल्दैमा दुई तिहाई आइहाल्छ भन्ने सोचाइसँग म पटक्कै सहमत छैन र हुन पनि सक्दिन । अर्कोकुरा यीनीहरुको सम्बन्ध लामो समय टिक्छ भन्नेमा पनि मलाई मात्र होइन आम जनतालाई शंका छ । किनकी सरकारमा ओलीसँगै बसेको बेला प्रचण्डको कांग्रेस सभापति शेरबहादुर देउवासँग लभ परेको होइन ? त्यसकारण कहिले कोसँग नजिकको सम्बन्ध, कहिले कोसँग लोभ र मोहमा फस्ने मान्छेको के भर ? त्यसकारण यिनीहरुले कुम मिलाए भन्दैमा मख्ख पर्नुपर्ने कारण केही छैन कम्युनिष्टहरु एक ठाम बस्नै सक्दैन । यो प्रष्ट हो । धेरै दिन कुर्नै पर्दैन । उनीहरुको एउटै नियत छ जनतालाई एक भएजस्तो देखाउने अनि अनि निर्वाचनमा केही धेरै मत बटुल्ने ।
तर अव हामी जनताले बुझुनुपर्ने बेला आएको छ । यिनीहरुको हौवामा भन्दा पनि इतिहास फर्केर हेर्नुपर्ने बेला आएको छ । इतिहास साक्षी छ । कम्युनिष्टहरु बलियो हुने वित्तिकै लोकतान्त्रिक चरित्र विर्सिन्छन् । पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टी हुँदा एमाओवादीको हर्कत जनताले देखिसके भने सोही निर्वाचनमा एमाले तेस्रो दलको रुपमा खुम्चिदा अति लोतान्त्रिक, लोकप्रिय र जनप्रिय भएको थियो त्यो पनि हामीलाई राम्रैसँग थाहा छ । अस्तित्वनै सकिन्छ की भन्ने अवस्थामा पुगेका बेला एमालेले जस्तो नरमपन देखाएको थियो । एमाओवादीले पनि अहिले बाम एकता भनेर गरेको त्यही हो । भोलीका दिनमा पनि उनीहरु एक नम्बरका भए भने उनीहरुको क्रियाकलाप एक दम उल्टो देखिन्छ । तर यी दुबै दलका नेता मात्र होइन कार्यकर्ता पनि उदण्ड र अराजक छन् ।

आफुलाई ठिक लाग्दा सबैकुरा ठिक आफुलाई मन नपर्दा सबैकुरा बेठिक भन्ने त प्रचण्ड र ओलीको स्वभाव नै हो त्यो त हामीले दैनिक सुन्ने भाषणाबाटै प्रष्ट हुन्छ । अझ अचम्मत के छ भने ओली स्वयंम अहिले राष्ट्रपतिय शासनको पक्षमा जाने संकतहरु चुनावी प्रचारका शिलहिलमा दिन थालेका छन् । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहेको ओलीको प्रचण्डसँग कुम मिलाउदैमा विचार नै कसरी बदलियो ? कामरेडहरुले मात्र होइन आम जनताले बुझ्न जरुरी छ । जता मिठो देख्यो उतै मुख मिठ्याए देशको विकास र स्थिायित्व सम्भव छैन । यस्तो दहीचिउरे स्वभावले त अझ देश द्वन्द्वमा जाने खतरा हुन्छ ।

कम्युनिष्ट गठबन्धलाई दुई तिहाई बहुमत भयो भने मात्रै पनि संसदमा मनपरी गर्नबाट कसैले रोक्न सक्दैन । त्यसकारण मतदाताले विवेक प्रयोग गर्न जरुरी छ। लौनत हेरौ भन्ने भाव यसपटक देखाउनुभयो भने कम्युनिष्टहरुले जतिनै मिठा भाषण गरेपनि उनीहरुको स्वभाव र चरित्र हामीले हेरिसक्यौ बदलिने भए यिनीहरु उहिल्यै बदलिसक्थे । प्रात्र यही प्रवृत्ति उही भएका कम्युनिष्टहरुको दाई विगत एक दशकमा हामीले प्रशस्त देखिसक्यौ । यीनीहरुको परिक्षण भइसक्यो त्यसले गर्दा नयाँ अपेक्षा गरेर दयाँ भाव देखाईयो भने त्यसले उनीहरुलाई निरंकुश बनाउने छ । त्यसर्थ निरंकुशता ल्याउने कि लोकतन्त्र बलियो बनाउने रोज्न जिम्मा जनताकै हातमा । (माथिका विचार लेखकका नितान्त निजी हुन)