९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लोकतन्त्रको उपहास : निर्वाचनमा परिवारवाद र नातावाद


0
Shares

नेपाली लोकतन्त्र समावेशीताका नाममा विश्वमै उदाहरणीय भएको बताइन्छ तर, यही समावेशीताकै आवरणमा लोभीपापी नेताहरूले आफन्त, नातेदार, पारिवारिक चक्रका मानिसहरू र पैसाका बिटो भएकाहरूलाई काखी चेपेकाले लोकतन्त्रलाई नै जनताका नजरबाट क्रमशः उपहासात्मक ढंगले हेर्न थालिएको पाइन्छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा राजनीतिमा सँगै होमिएका परिवारजनले मात्र होइन, ठूला नेताका आफन्त भएकै कारण पनि टिकट पाउनेमा फरियावादका मानिसहरू बढी से बढी देखिए । त्यसैले सिद्धान्तको राजनीतिभन्दा व्यवहारमा बलियो नातावाद भएर देखिएको छ ।

कांग्रेसमा नातावाद : 

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडको नाम समानुपातिक तर्फबाट १ नम्बरमा छ । उनकी पत्नी मञ्जुको नाम पनि महिलातर्फबाट समानुपातिकमै दरिएको छ । मञ्जु खाँड खस–आर्य महिला समूहको आठौं नम्बरकी उम्मेदवार छिन् ।

त्यसैगरी, जनमानसमा विवादास्पद छवि भएका तर कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा पनि प्रतिनिधिसभा खस–आर्य कोटाबाट समानुपातिक उम्मेदवार सूचीमा सूचीबद्ध छिन् । भ्रष्टाचार अभियोगमा सर्वोच्चको अन्तिम फैसलाबाट जेल सजाय भोगेका खड्का कानुनतः उम्मेदवार बन्न नपाउने नै भएपछि पत्नीको नाम समावेश गरियो । शिलाको उम्मेदवारी महिला क्रमको नवौं नम्बरमा छ । २०७० को निर्वाचनमा कांग्रेसले शिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाए पनि खुमबहादुरले नाम फिर्ता गराई समानुपातिकबाट सांसद बनाएरै छाडे ।

कांग्रेसका अर्का प्रभावशाली नेता विमलेन्द्र निधिकी जेठीसासू दीपशिखा शर्मा पनि प्रतिनिधिसभा समानुपातिकमा महिलाबाट ६ नम्बरमा राखिएकी छिन् । दीपशिखा २०४८ सालमा सिन्धुली ३ बाट जितेका ध्रुव शर्माकी श्रीमती हुन् । पूर्व सांसद शर्माको निधन भइसकेको छ । उनी परिवारवाद कै उदाहरण रहेकी बताइन्छ ।

रमाइलो कुरा कांग्रेसभित्र उदारवादी अर्थशास्त्री भनेर चिनिने कांग्रेस नेता महेश आचार्य प्रतिनिधि सभाका लागि मोरङ–४ बाट उम्मेदवार छन् तर उनका भान्जा दीपेन्द्र ढकालले पनि प्रदेश सभा १ बाट समानुपातिकमा उम्मेदवारी पाए । त्यतिमात्र होइन, आचार्यकै सम्धी विश्वनाथ रिजाल पनि मोरङ ४ को (ख) बाट प्रदेश सभाका उम्मेदवार बने ।

कोइराला परिवारका भदाज्वाइँ पनि यो पटकको निर्वाचनमा उम्मेदवार बनेको पाइयो । नोना कोइरालाका भदाज्वाइँ खिमप्रसाद भुसाल प्रतिनिधिसभाको खस–आर्य पुरुषको समानुपातिक उम्मेदवार बनेका छन् । राजनीतिमा नामै नसुनिए पनि उनी खस–आर्यको नवौं नम्बरमा राखिएका छन् ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव मधेशी सूचीमा कांग्रेस तर्फबाट समानुपातिकको १ नम्बरमा छिन् । तर उता छोरा डा. सुभाषचन्द्र यादव पनि सिरहा ३ (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाटै प्रत्यक्षतर्फबाट निर्वाचन लड्दै छन् । २०६४ मा निर्वाचन हारेका केसीले ०७० मा जिते । यसपालि उनकी बहिनी गोमा केसी पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ खस–आर्य महिला सूचीको १२औं नम्बरमा छिन् ।

एमालेमा आफन्तजनलाई टिकट

एमाले वरिष्ठ नेता झलनाथ खनाल र सचिव भीम आचार्य साढुका रूपमा नातेदार भए पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । खनाल इलाम–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र आचार्य सुनसरी १ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन् । आचार्यलाई प्रदेश १ को मुख्यमन्त्रीका रूपमा पनि प्रचार गरिँदै छ । भोजपुरबाट प्रदेश सभामा उठेका पूर्वमन्त्री शेरधन राई मुख्यमन्त्रीका रूपमै आचार्यका प्रतिस्पर्धी बनाइएका हुन् ।

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया–१ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । एमालेकै महिला संघकी उपाध्यक्ष रहेकी गौतमपत्नी तुलसी थापा प्रतिनिधिसभामा समानुपातिकबाट जनजाति महिलातर्फ उम्मेदवार छिन् । छैटौँ नम्बरमा नाम रहेकाले उनी सांसद हुने पक्कापक्की जस्तै छ ।

त्यसैगरी स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २ (क) बाट प्रदेशसभा उम्मेदवार छन् भने केन्द्रीय सदस्य सुजिता शाक्य प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार छिन् । शाक्य जनजाति समूहको महिलातर्फ तेस्रो नम्बरमा छिन् ।

एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चितवन १ बाट प्रतिनिधिसभा र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ १(क) बाट प्रदेश सभामा उम्मेदवार छन् । दुवै सहोदर दाजुभाइ हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभामा र उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । कृष्णगोपाललाई चुनाव जित्न आच्छुआच्छु परेको छ भने विना जनजाति महिलातर्फ पाँचौं स्थानमा रहेकी हुनाले सांसद बन्ने लगभग निश्चित छ ।

त्यसैगरी केन्द्रीय सदस्य रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभाका लागि उठेका छन् भने पत्नी जुली महतो प्रतिनिधिसभाकै समानुपातिकतर्फ मधेषी महिलातर्फको पहिलो नम्बरमा उम्मेदवार छिन् । यसरी पतिहरूले आफूलाई खुला चुनावी मैदानमा उठाएका छन् भने अधिकांशले पत्नीलाई समानुपातिकतर्फका उम्मेदवार बनाएर लगभग सांसद बनाउने निश्चितजस्तै बनाएका छन् । यो प्रवृत्तिले तत्तत् पार्टीका इमान्दार कार्यकर्ताहरूको राजनीतिक कत्लेआम भएको छ ।

एमाले नेता विरोध खतिवडा मकवानपुर २ बाट प्रतिनिधिसभामा उठेका छन् भने उनकी पत्नी मनु सिग्देल ३ नम्बर प्रदेश सभाका लागि समानुपातिकतर्फ खस–आर्य महिलातर्फ दोस्रो नम्बर सूचीमा उम्मेदवार छिन् । मनु एमाले मकवानपुरकी अध्यक्ष समेत हुन् ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार छन् । उनकी पत्नी उषाकला राई प्रदेश १ को प्रदेश सभाका लागि जनजाति महिलातर्फ दोस्रो नम्बर सूचीकी उम्मेदवार छिन् । एमाले अध्यक्ष केपी ओलीका अर्का एक साला ललितपुर २ बाट प्रदेशसभाका उम्मेदवार बनेका छन् ।

प्रचण्ड परिवारबाट चारजना उम्मेदवार 

माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारचारजना उम्मेदवार छन् । प्रचण्ड चितवन–३ र बुहारी विना मगर कञ्चनपुर–१ बाट उम्मेदवार छन् । भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना समेत पाएकी थिइन् । उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन् । भूमिगतकालमै सक्रिय भाइ नारायण दहालले ०६४ सालमा चितवनबाट चुनाव जिते । यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन् । यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ (क) बाट प्रदेश सभा उम्मेदवार छन् । ‘वाम गठबन्धन भएको फाइदालाई क्यास गर्नका लागि प्रचण्डले मौकाको फाइदा उठाएका हुन्’ भन्ने विश्लेषकहरूको भनाइ रहेको छ ।

त्यसैगरी, पुन परिवाबाट माओवादी नेता वर्षमान पुन तथा पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मदेवार छन् । दुवै जनयुद्धमा सँगै हिँडेका हुन् । पुन रोल्पाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । यस्तै वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ (क)बाट प्रदेश सभा उम्मेदवार छिन् ।

त्यसैगरी, नेता हितमान शाक्य काठमाडौँ १० बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी अमृता थापा प्रतिनिधिसभाकै समानुपातिकमा परेकी छिन् । अर्का नेता शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी सत्या पहाडी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् ।

नेता देव गुरुङ लमजुङमा प्रत्यक्षतर्फबाट प्रतिनिधिसमा उम्मेदवार छन् भने पत्नी यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभाकै समानुपातिक सूचीमा परेकी छिन् । नेता कुलप्रसाद केसी रोल्पा (क) बाट प्रदेश सभा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् भने श्रीमती तारा घर्ती केसी प्रतिनिधिसभा समानुपातिकमा परेकी छिन् ।

माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा समानुपातिक र श्रीमान् कृष्णध्वज खड्का प्युठान (ख) बाट प्रदेशसभामा प्रत्यक्ष उम्मेदवार छन् । अर्की नेतृ देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । भाइ विशाल खड्का दोलखा (क) बाट प्रदेश सभा उम्मेदवार छन् । माओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुम र भाइ अनिल शर्मा काठमाडौं १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । यद्यपि अनिलको जित निश्चित छैन । सोही क्षेत्रमा कांग्रेसका हेभिवेट प्रकाशमान श्रेष्ठ र विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्र चर्चाको शिखरमा छन् । सो क्षेत्रमा प्रकाशमान र रवीन्द्रमध्ये एकको जित निश्चितजस्तै रहेको छ ।

आफन्त तर राजनीतिमा सक्रिय काँग्रेस उम्मेदवार 

नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट यसपटक नवलपरासी फुटेर बनेको नवलपुर १ बाट कांग्रेस महामन्त्री डा.शशांक कोइराला, बीपीका भाइ केशवपुत्र डा.शेखर कोइराला मोरङ ६ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा चुनाव लड्दै छन् । त्यसैगरी गिरिजापुत्री सुजाता कोइराला प्रतिनिधिसभाको समानुपातिकतर्फ खस–आर्य महिलामा पहिलो नम्बरमा उम्मेदवार रहेकी छिन् । तीनैजना एकै परिवारका भए पनि राजनीतिमा प्रभावशाली भूमिकामा सक्रिय छन् । अबको कांग्रेस हाँक्ने दायित्व यी तीनजनाकै काँधमा आइपर्ने पूर्वानुमान गरिँदै छ ।

कांग्रेस नेता रामशरण महत नुवाकोट १ र प्रकाशशरण महत काठमाडौं ५ बाट चुनाव लड्दै छन् । प्रकाशशरण एमालेका नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धी छन् भने रामशरण ०४८ को निर्वाचनबाहेक हरेक पल्ट नुवाकोटबाट जित्दै आएका नेता हुन् । अर्का, केसी दाजुभाइ नुवाकोटबाट चुनाबमा भिडेका छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधिसभामा र उनका भाइ नुवाकोट कांग्रेस सभापति समेत रहेका जगदीश्वरनरसिंह केसी नुवाकोट २(क) मा प्रदेश सभामा उम्मेदवार बनेका छन् । संविधान सभाको पहिलो निर्वाचन हारेका जगदीश्वरले दोस्रो निर्वाचन भने जितेका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट र पत्नी आरजु कञ्चनपुर ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्दै छन् । यसैगरी शैलजा आचार्यका बहिनीज्वाइँ दिलबहादुर घर्ती लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । उनको कडा टक्कर वामनेता देव गुरुङसँग हुँदै छ ।

यसरी नेताका आफन्त र परिवारका सदस्यहरू चुनावमा लड्नुले नेता र परिवारका सदस्यहरूलाई त फाइदा पुगेकै होला तर जेनुइन कार्यकताहरू पाखा लागेका छन् । कांग्रेसका पुराना र लोकप्रिय नेता केबी गुरुङ, अर्का युवा तथा प्रभावशाली नेता धनराज गुरुङ, गुरुराज घिमिरेहरूले यो पटक कुनै प्रकारका टिकट पाएनन् भने एमालेका ठाकुर गैरेले समेत एमाले नेता माधव नेपालका सम्धीलाई टिकट छाड्नु परेकाले उम्मेदवार बन्ने प्रक्रियाबाटै फुत्किए ।

लोकतन्त्रले व्यक्ति र उसको क्षमतालाई मूल्याङ्कन गर्नु पर्छ । अबको चुनावमा पैसा नहुने र निष्ठा र आस्था बोकेकै भरमा कुनै पनि उम्मेदवारले जित्ने परिस्थिति देखिँदैन । ठूला पार्टीहरू आफू र आफ्ना परिवारका नातागोतामा सिमित भएर जानुले जनताको नजरमा तिनीहरू गिरेका छन् । समानुपातिकतर्फका सिट बाँडफाँड र टिकट वितरणमा भएको रन्ठमोलले धेरै नेताले सो प्रक्रियाका टिकटहरू बेचेको आरोपसमेत लागेको छ ।

अब पनि जनता नजाग्ने हो भने टिकट किनेर सांसद हुनेहरूसँग जनताले के र कस्तो अपेक्षा गर्ने ? धनले टिकट किन्नेहरूमा भिजन हुने त कुरा भएन भएन, राजनीतिमा क्रियाशील भएका पुराना नेताहरू पनि भिजनभन्दा ‘भजन’ मा रमाएको परिस्थितिले हाम्रो यो सिष्टमै कतै ‘फेल’ हुने त होइन भन्ने प्रकारका प्रश्नहरू अहिले राजनीतिमा यक्ष प्रश्न बनेर तेर्सिएका छन् ।