८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘एनालग’ टेलिभिजन प्रसारण प्रणाली बन्द भए/नभएको बारे अनुगमन


0
Shares

सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौं संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म ‘एनालग’ प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई ‘डिजिटल’ प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो ।

सोहीअनुरुप सूचना तथा सन्चार मन्त्रालय, नीति, योजना अनुगमन तथा मूल्यांकन शाखा प्रमुख तथा उपसचिव रुद्रादेवी शर्माको नेतृत्वको टोलीले बिहीबारदेखि अनुगमन सुरु गरेको हो ।

‘हरेक गतिविधि प्रविधिमैत्री बनाउने सन्दर्भमा यो नेपालको आन्तरिक आवश्यकता पनि हो, सन् २०१७ सम्ममा सबै केबललाई ‘डिजिटलाइजेशन’ गर्ने सरकारको निर्णयअनुरुप चरणबद्ध रूपमा एनालग प्रणालीलाई हटाउँदै लगिएको हो’, उपसचिव शर्माले भनिन् ।

उनका अनुसार करिब ८५२ टिभी ‘एनालग’ प्रणालीमा छन् । त्यसैगरी, करिब २५ प्रतिशत ‘डिजिटलाइजेशन’ भइसकेका छन् । आगामी २०७५ वैशाखसम्म सबै गाउँपालिकामा अनुगमन गरिने छ ।

‘एनालग’ प्रणालीबाट ‘डिजिटलाइजेशन’ गरिएकामा सेवा प्रदायकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएको मन्त्रालयले जनाएको छ । अनुगमन टोलीमा अम्बिकाप्रसाद शर्मा र सरोज पौडेल पनि छन् ।

टोलीले शुक्रबारमात्रै भक्तपुर सूर्यविनायकस्थित भक्तपुर टिभी प्रालि, सिनामंगलस्थित केबल टिभी एन्ड नेट र बुद्धनगरस्थित सहयोग केबल नेट प्रालिमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै स्थानमा ‘एनालग’ बन्द गरी ‘डिजिटल’ रुपमा सन्चालन गरिएको पाइएको छ । रासस