
सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सोमबार जापानी प्रतिनिधिमन्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसन्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरे ।
नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसन्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो । मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसन्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा प्राथमिकताका साथ काम गर्दै आएको छ ।
नेपालको दूरसन्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमन्डलले मन्त्री बस्नेतसँग छलफल गरेको छ ।
जापानी प्रतिनिधिमन्डलले आफूहरु नेपालको दूरसन्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको बताउँदै सो सम्बन्धी प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ ।
भेटपछि सन्चारकर्मीसँग कुरा गर्दै सन्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताए ।
मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ । सरकारले आगामी तीन वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ ।
मन्त्री बस्नेतले मुलुकको भौगोलिक विकटता र प्राकृतिक विपत्तिसँग जुध्नसक्ने सूचना प्रविधिको विकासका लागि विश्वभरबाट दक्ष रणनीतिक साझेदारको खोजीमा रहेको जानकारी दिए । यसका लागि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।
मन्त्री बस्नेतले सरकार दूरसन्चार क्षेत्रमा फड्को मार्नका साथै मुलुकभित्रै नोट छपाइ, राष्ट्रिय परिचयपत्र र राहदानी छपाइको तयारीमा रहेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्