
वि.सं. १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौंको आरुबारीमा उनको जन्म भएको थियो । भाइटीकामा कार्यक्रम गर्न असहज हुने भएकाले शुक्रबार (आज) अघिल्लो दिन नै तिथिअनुसार उनको सम्झना गरियो ।
साहित्यकार विकलको ९०औं जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो ।
प्रतियोगितामा इष्टपोल माध्यमिक विद्यालयका छात्र रोहन सिम्खडा प्रथम, टाइमलाइन माध्यमिक विद्यालयका श्लेष्मा आचार्य द्वितीय, एभरग्रिन माविका नवीनसिंह धामी तृतीय, हाइली क्रियटिभ माविकी रुसा गिरी र भेनस पब्लिक स्कुल बेसीगाउँकी निसा साह सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
पहिलो हुनेलाई नगद रु तीन हजार र रु एक हजार ५०० को पुस्तक, दोस्रो हुनेलाई रु दुई हजार नगद र रु एक हजारको पुस्तक, तेस्रो हुनेलाई रु एक हजार नगद र रु ६०० को पुस्तक, शान्त्वना हुने दुवैलाई रु ५०० नगद र रु ५०० को पुस्तक वितरण गरिएको अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले राससलाई जानकारी दिए ।
समाजले स्थापना गरेको विकल बालप्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सम्मानपत्र र पुरस्कार वितरण गरे ।
सो अवसरमा नगरप्रमुख चालिसेले विकलले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।
प्रतिष्ठानको उपाध्यक्षसमेत रहेका कलाकार के के कर्माचार्यले ‘विकल साहित्यकारमात्र नभइ सिद्धहस्त चित्रकार पनि हुनुहुन्थ्यो’–भने ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समाजका अध्यक्ष वेदमणि घिमिरेलगायतले साहित्यकार विकलको व्यक्तित्व एवं कृतित्वका विविध पक्षमाथि चर्चा गरे ।
प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ ‘निलगिरि’लगायत कृति चर्चित छन् । रासस
प्रतिक्रिया दिनुहोस्