
मेरो भदाहा, वासुदेव दाइको छोरो कृष्णलाई हामीले ,हाम्रो परिवारले भगवानको रुपमा मानेका थियौं, मानेकै छन् अझै मेरा छोराहरुले र परिवारका अरु सदस्यहरुले । अरुको त के कुरा गर्नु, स्वयं पितामहले अनि गुरु द्रोणाचार्यले समेत बारम्बार भनेको सुनेकी थिएँ, कृष्ण अपरम्पार छन्, यदि हाम्रो परिवारको सम्भावित युद्ध कसैले रोक्न सक्छ भने कृष्णले मात्र सक्छन् । व्यासले त कृष्णगुणानुवादका लागि भक्ति सन्देशसमेत तयार गर्नुभएको छ रे । मैले अझै बुझ्न नसकेको कुरा के हो भने किन हाम्रो परिवारमा सधैँ युद्धको आह्वान गरिन्थ्यो तर युद्ध रोक्ने कुरामा जोड भने दिइँदैनथ्यो । तर पनि युद्ध रोक्ने वा नरोक्ने कुरामा पाण्डवलाई मात्र आधारभूत जिम्मेवार ठहराइन्थ्यो ।
फेरि म कता बहकिन थालें । कुरा मेरो मनमा खेलेको थियो पनाति बर्बरिकको । हिडिम्बाको कोखबाट घटोत्कचको जन्म भएपछि ज्योतिषीहरुले भनेका थिए, यो बालक साह्र वीरवर हुनेछ । यसको मृत्यु अमोध शस्त्रास्त्रबाट हुनेछ । सुर, असुर, मानव, दैत्य, अदैत्य, नाग, यक्ष, गन्धर्व आदिमा हामी मानव जातिलाई विभाजित गरिएको समयमा मानवको रुपमा जन्मिएको सुरजातिका वायु पुत्र भीमको असुर युवती हिडिम्बा वा हिडिम्बीबाट जन्मिएको सन्तान सुर हो कि, मानव हो कि, राक्षस हो कि यक्ष हो कि के हो, जे भने पनि त्यो माहिलो पाण्डव पुत्र नै थियो र मेरो पहिलो नाति । जेठो छोराको औपचारिक विवाह नभई अरु छोराको विवाह भए पनि अविवाहित जेठाजु भएको घरमा बुहारी भित्राउने चलन थिएन र जन्मिएको सन्तान पनि औपचारिकरुपमा घरमा राख्ने चलन थिएन ।त्यसैले महाबली भीमको पुत्रको पनि हाम्रो रेखदेखमा पालन पोषण भएन । हिडिम्बाकै अभिभावकत्वमा महाबली घटोत्कचको लालन पालन, शिक्षा दीक्षा भयो र राक्षस परम्पराअनुसारको मायावी युद्धको पनि उसलाई दक्षता हासिल भयो । खासगरी लुकेर प्रहार गर्ने , तत्काल रुप परिवर्तन गर्न सक्ने, ठूलो सानो जस्तो पनि भएर छल गर्न पनि सक्ने ६४कलामध्यको मायावी विद्यामा ऊ पोख्त थियो ।
अनि त्यही भीमको महाबली पुत्र घटोत्कचको अहिल्यावती वा मौरवीको पुत्ररत्नको रुपमा बर्बरिकको पनि जन्म भयो । ऊ सिद्धहस्त लडाकु थियो रे । उसको क्षमताको दुरुपयोग नहोस् भन्नेमा उसका गुरु विजय सिद्धसेन, बाबु घटोत्कच, उसकी हजुरआमा हिडिम्बा, माता मौरबी र सर्वजगतको जानकारी राख्ने कृष्णसमेत सतर्क थिए भन्ने कुरा मैले त पछि युद्धको अन्तमा मात्र जानकारी पाएकी हुँ । जम्मा तीनओटा वाण ठोक्रामा राखेर विश्व विजय गर्न सक्ने क्षमता राख्दो रहेछ त्यो वायुको भनुँ कि पाण्डुको पनाति, मेरो पनाति । सुनेकी थिएँ , घटोत्कचको विवाह नागकन्यासँग गर्ने कुरामा र बर्बरिकको शिक्षादीक्षामा समेत कृष्णको प्रत्यक्ष सल्लाह पाएका थिए रे घटोत्कच र हिडिम्बाले ।
कृष्णप्रति कतिसम्मको विश्वास र आधार थियो भने त्यस्तो विश्वविजयी बर्बरिकको टाउको माग्दा पनि बर्बरिकले ऐया नभनी आफ्नो टाउको काटेर दिएछ । कस्तो पीडा भयो होला त्यो बालकलाई ? अनि कति खुसी भयो होला आफ्नै टाउको काटेर कृष्णलाई समर्पण गरेर मोक्ष प्राप्त गरँे भन्दै सबैलाई सम्झाउँदा ?
मलाई मात्र थाहा नभएको रहेछ, भीष्मलाई पनि थाहा रहेछ बर्बरिकको क्षमताका वारेमा । भीमलाई पनि थाहा रहेछ । नीलो कबच पहिरेर, नीलो घोडामा चढेर , आमा हजुरआमासँग विदा लिएर हजुरबालाई सहयोग गर्न भनी आउँदै रहेछ बाटामा । मेरा छोराहरुको युद्धसम्बन्धी सम्पूर्ण व्यवस्था गर्ने, लडाकु छान्ने, शस्त्रास्त्रको पहिचान गरेर सञ्चय गर्ने र अत्याधुनिक हतियार चलाउन सिकाउने वास्तवमा कृष्ण नै रहेछ जवकि उसले कुनै हतियार पनि नचलाउने प्रण गरेर मात्र अर्जुनको सारथी हुन स्वीकार गरेको रहेछ । बाटा निस्फिक्रीसँग आउँदै गरेको किशोर योद्धालाई कृष्णले एउटा ब्राह्मणको भेषमा भेटेर गन्तव्यको उद्देश्य जान्न खोज्दा उसले तीनओटा वाणले संसार दग्ध गर्नसक्ने क्षमताको प्रदर्शन गरेछ भनेछ-तर मेरो एउटा प्रण छ, दुर्बलको पक्षमा मेरा वाणहरु प्रयोग हुनेछन् र निर्बलको पक्षमा सबललाई समाप्त गरेपछि यी वाणहरु फर्केर मेरा ठोक्रामा नै आउनेछन् । तर कृष्णलाई के कुरा पनि थाहा थियो भने पारिवारिक युद्ध भनिए पनि त्यो विश्वयुद्धको महान प्रयोग थियो र अन्ततः एघार अक्षौहिणी सेना भएको कौरब पक्षभन्दा सात अक्षौहिणी सेना भएको पाण्डव पक्ष नै सबल ठहरिन सक्थ्यो । अनेका जालझेल गरेर भए पनि धर्मको पक्षमा जीत सुनिश्चित गरिनु थियो पाण्डवको पक्षमा । तत्कालीन युद्धको नियमले बर्बरिकको क्षमता दुर्योधन बाजेका लागि प्रयोग हुनसक्थ्यो । हिडिम्बा, मौरबी र गुरु विजयको धारणा के रहेछ भने पक्कै पाण्डव पक्ष दुर्बल छ, त्यसैले दुर्बलको पक्षमा मात्र लड्नू भनिएको हुनसक्छ ।
कृष्णलाई नचिन्दै बर्बरिकले भनेछ-म त एक घडीमा नै युद्धको निर्णायक परिणाम दिनसक्छु । अर्थात् बदमासहरुको हत्या र सज्जनको रक्षा गर्नसक्छु । उदाहरणसहित प्रयोगको नमुना प्रदर्शन गरेपछि कृष्णले आफू कृष्ण हुँ भन्दै गुरुदक्षिणाको वा ब्राह्मणको लागि भिक्षा माग्दा उसको शिर नै मागेछ रे । र भनेछ कृष्णले-यो युद्धको सफलताका लागि एकजना क्षत्रीय वीरको बली आवश्यक छ र मात्र पाण्डवको जीत निश्चित हुनेछ । मलाई तिम्रो टाउको चाहियो बर्बरिक । बर्बरिकले पनि कृष्णको इच्छालाई तत्काल पूरा गर्न आफ्नो टाउको आफैँले दान दिएछ । तर एउटा कुरा भने उसले आफ्नो अन्तिम इच्छा व्यक्त गरेछ-भगवान, मलाई यो धर्मयुद्धमा सहभागिता देखाएर निर्णायक युद्ध लडेर धर्मको विजय निश्चित छ भनेर देखाउन मन थियो ।मैले हजुरको आशय बुझेँ र आफूलाई बलिदान दिन तयार भएँ, तर मैले कसरी हेरुँला त यो भयानक युद्ध जसले संसारको बाटो नै नयाँ पहिल्याउने क्षमता राख्नेछ । मलाई लागेको थियो , अरुलाई किन दुःख दिउँ, म एक्लैले निर्णायक युद्ध गरेर समय र श्रमको सदुपयोग गर्नेछु ।
कृष्णले मोक्ष गराएछ तर महाभारतको युद्ध हेर्नका लागि कुरुक्षेत्रको डाँडामा उसको टाउको सचेत अवस्थामा राख्ने व्यवस्था गरेको रहेछ । जब सबै पुगेर बर्बरिकसँग दोहोरो कुरा गरेछन् उसको टाउकासँग, उल्टै उसैले पो मोक्षको पक्षमा कृष्णको गुणानुवाद गरेछ र आफू भाग्यमानी भएकाले श्यामबाट मोक्ष प्राप्त गर्ने बाटोमा हिँडेको बताएछ । अनि श्यामले आफूलाई जस्तै बर्बरिकको पनि पूजा गरुन् भनेर खाटु श्यामको रुपमा स्थापित गरेको रहेछ ।
त्यही टाउकोलाई उसको इच्छाबमोजिम महाभारतको युद्धको निरीक्षण गर्ने कामको जिम्मा कृष्णले लगाएछ । पुरै युद्धको समीक्षा गर्नका लागि मिहिन तरिकाले युद्धलाई निरीक्षण गरेछ । सबैको क्षमता हेरेछ, मुसुमुुसु हाँसेर बसेछ । भौतिक शरीर त थिएन र त केही गर्न सकेन होला । जब युद्ध समाप्त भयो, जीवित योद्धाहरुमा एउटा होड नै चलेछ-कस्का कारणले यो युद्धमा विजय प्राप्त भयो ? सबैले आाफ्ना आफ्ना विशेषताले गर्दा युद्धमा जीत भएको भनेछन् । अनि कृष्णले भनेछ-मैले युद्धको समीक्षा गर्नका लागि बर्बरिकलाई अह्राएको छु, जाउँ उहीँ र सोधौँ मिहिन विश्लेषण ।
सबै कुरुक्षेत्रको डाँडामा गए र बर्बरिकको दर्शन गरे । अनि सोधे युधिष्ठिरले टाउको मात्र बाँकी रहेको बर्बरिकको चेतनशील आत्मालाई-भन बर्बरिक, युद्धको बेलामा कस्को वीरताले यो महाभारतमा हामी पाण्डवको जीत सम्भव भयो ? मिहिन विश्लेषणको समीक्षा प्रस्तुत गरेछ मेरो पनातिले-कृष्णको सुदर्शन चक्रमो चम्किलो हतियारले मात्र सबैको नाश गरेको हो । अरु कसैको कुनै योगदान मैले देखिन । जे भयो, सुदर्शन चक्रको फुर्तिलो प्रहारले मात्र युद्धमा काम गरेको थियो । अनि मेरा छोराहरु खिस्रिक्क परेछन् रे ।
मलाई अहिले पनि लाग्छ-त्यसलाई नमारेर युद्धमा हेलिन दिएको भए के हुन्थ्यो ? हुन त नियतिको परिणाम पहिले नै तयारी थियो र पनि एउटा प्रश्न मेरो मनमा अहिले पनि आउँछ-यदि उसको वाणको प्रयोग गर्न दिएको भए पक्कै नै पाण्डवको पक्षमा नै वाणको परिणाम आउँथ्यो होला । या त्यो किशोरलाई सम्झाइ बुझाइ पठाएको भए एउटा महान आध्यात्मिक योद्धाले भावी दिनमा गलत काम गर्ने राजा, यक्ष गन्धर्व, दानव, मानव, सुर ,असुर सबैलाई गलत काम गर्नबाट रोक्थ्यो होला । कलीयुगको आरम्भमा कम्तीमा पनि एउटा योद्धाले सत्यको पक्षमा रखवाली गर्दा राज्यहरुका शासकहरु अनियन्त्रितरुपमा जथाभावी त गर्न सक्दैनथे होलान् । तर नियतिको जे लेखा हुन्छ, त्यो पक्कै भएरै छोड्छ भन्ने यसले पनि देखाउँछ ।
त्यही भीषण महायुद्धमा अर्जुनका छोराहरु सुभद्रा पुत्र अभिमन्यु, उलूपीपुत्र इरावान, पाण्डवहरुका तर्फबाट द्रौपदीका पुत्रहरु प्रतिविन्द्य, सुतसोम,श्रुतकीर्ति,सतनीक र श्रुतकर्मणले पनि वीरगति प्राप्त गरेका थिए । जसरी मारिए पनि मेरा सन्तानहरु मरिएका थिए । चाहे घटोत्कच मारियोस्, चाहे बर्बरिक मारियोस्, चाहे इरावान वा द्रौपदीका पाँच भाइ छोराहरु मारियून् । कर्ण नै त अर्जुनको हातबाट मारिएका थियो । वास्तवमा यी सबै परिणामको एउटा अनुमान सबैलाई थियो कि कुरुवंश ध्वस्त हुनेछ । उता चित्राङ्गदाको छोरो बभू्रबाहन भने बाँचेको छ मावलीका लागि उसको प्रयोजन हुनेछ । यता उत्तराको गर्भको बालक नै हाम्रो एकमात्र उत्तराधिकारी बाँकी रहेको छ कुरुवंशको उत्तराधिकारी भोलिको राज्याधिकारी ।
जीवनको यो अन्तिम पलमा पनि मलाई मोक्षको भन्दा किन बढी राज्यको चिन्ताले सताएको होला ? अब त मेरो चिन्ताले हुने त केही पनि होइन ? त्यो अभिमन्यलाई सात महारथीहरुले निहत्था वीरलाई मारेछन् त्यो पनि ज्वार्इँ जयद्रथले रे । अनि अर्जुनले पनि छोराको हत्याको बदला लिएर जयद्रथलाई मारेछ । आखिर दुःशला विधवा भई । हुन त सय भाइ दुर्योधनहरुलाई भीम एक्लैले नै मारेछ युद्धमा । जति सम्झन्छु उति छाती चिरिएर आउँछ । क्रमशः
प्रतिक्रिया दिनुहोस्