९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


इन्टरनेट सेवा प्रदायक संघको आपत्ति


0
Shares

काठमाडौं, माघ २ । नेपाल विद्युत् प्राधिकरणले प्रयोग गर्न दिइरहेको पोल तथा ओपीजीडब्ल्यू फाइबर प्रयोग गरेवापतको भाडादरमा अस्वाभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आपत्ति जनाएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बिनाआधार ५०० प्रतिशतसम्म भाडा बढाएको भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा कम्पनीहरुले कुनैपनि हालतमा बढाएको अस्वाभाविक भाडा नतिर्ने भन्दै यसमा व्यावहारिकता ल्याउन सरोकारवाला पक्षलाईसमेत समेटेर उच्चस्तरीय समिति बनाउन माग गरे ।

सो समितिले दिएको सुझावका आधारमा व्यावहारिक भाडा तिर्न आफूहरु तयार रहेको उनीहरुले बताएका छन् ।

यसअघि, सरकारले आर्थिक वर्षको बजेटमा १३ प्रतिशत सेवा शुल्क लागू गरेकामा त्यसलाई सन्चार मन्त्रालय, नेपाल दूरसन्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले आपसी समझदारीमा समायोजन गर्ने सहमति कार्यान्वयन भइसकेको छ ।

प्राधिकरणले सन्चालक समितिको गत असार २६ गते बसेको बैठकको निर्णयानुसार १५ दिनभित्र सहमति गर्न आउन भन्दै गत पुस १९ गते नै सबै इन्टरनेट प्रदायकहरुलाई पत्र काटेको थियो ।

यही माघ ४ गतेसम्म सहमति नगरे प्राधिकरणले नियमानुसार कारबाही गर्ने जनाएको छ ।

प्रदायकहरुले प्राधिकरणको नियमानुसार भाडा तिर्ने हो भने उपभोक्ताले तिर्नै नसक्ने गरी इन्टरनेट सेवा महँगो हुने दाबी गरेका छन् ।