देशभर अझै दुई दिन वर्षा हुने

news

काठमाडौं, असार १८ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक/दुई स्थानमा अत्यधिक वर्षा हुनेछ ।

मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछिमात्र नेपालमा वर्षा कम हुन्छ । यही असार १४ गतेदेखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ ।

आइतबार साँझदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । अहिले पनि काठमाडौं उपत्यकासहित देशैभर बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो । सामान्यतः नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।

मौसमविद् रिमालकाअनुसार अहिले वर्षा मध्य र पश्चिमी भेगमा केन्द्रित भएको र साँझबाट मध्य र पूर्वी भेगमा केन्द्रित हुनेछ ।

आइतबार राति र सोमबारको तुलनामा मंगलबार र बुधबार वर्षा कम हुनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा बढी नेपालगन्जमा १८७, भैरहवामा १६६, दाङमा १०६, धनगढीमा ९९, वीरेन्द्रनगरमा ८५ र विराटनगरमा ५९ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा १५ मिलिमिटर वर्षा भएको छ ।

सोमबार काठमाडौंको अधिकतम् तापक्रम २४ र न्यूनतम् तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता बदली र वर्षाका कारण उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ ।

आइतबार काठमाडौंको अधिकतम् तापक्रम २७ डिग्री रहेको थियो भने गत असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा थियो ।

जेठको दोस्रो साता काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...