७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एडीएसएल लाइन लिन जाँदा सांसद ल्ह्यारक्याल लामालाई टेलिकमका कर्मचारीले थर्काए !


0
Shares

                                                                                   फाइल फोटो
दूरसञ्चार सेवा प्रदायकले उपभोक्तामाथि ठगी गरिरहेको सन्दर्भ जोड्दै सांसद राणाले भने–‘उपभोक्तालाई गुणस्तरीय सेवा नदिने अनि उल्टै थप शुल्क लिने ? के उनीहरुलाई कुनै नियम–कानुन लाग्दैन ?’

व्यवस्थापिका–संसद अर्थ समितिको शुक्रबारको बैठकमा सांसदले दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई सेवाको नाममा सास्ती दिएको र थप शुल्कको मारमा पारेको भन्दै आपत्ति जनाए ।

नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गर्नेतर्फसमेत कुनै पहल नगरेको र सेवा प्रदायकलाई छाडा छाडेकामा सांसदले आलोचना गरेका थिए ।

फोन गरेको समयअनुसारको शुल्क लिने अन्तर्राष्ट्रिय प्रचलन भएपनि मुलुकभित्रका सेवा प्रदायकले उपभोक्तालाई गुणस्तरीय, सरल र सहज सेवा दिन कन्जुस्याइँ गरेकामा सांसदको आपत्ति थियो ।

मोबाइल फोनको गुणस्तर नभएको, कुरा गर्दा गर्दै काटिने, फोन गर्दा नसुनिने, अनावश्यक शुल्क तिर्नुपरेको तथा कतिपय स्थानमा फोन नै नलाग्ने अवस्था रहेकामा सांसदले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको ध्यानाकर्षण गराए । सांसदले कति समयभित्र सुधार हुन्छ र सुधार गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए ।

सांसद केदारप्रसाद सञ्जेलले सेवाको गुणस्तरबारे प्रश्न गरे–‘एक महिनाको अवधिमा १० दिन एडीएसएल चल्छ, बाँकी समय चल्दैन । तर, समय पुगेपछि लाइन आफैं काटिन्छ, यस्तो लापरबाही किन ? के अब इन्टरनेट अर्कै कम्पनीको चलाउनु भनेको हो टेलिकमले ?’

अर्का सांसद ल्ह्यारक्याल लामाले एडीएसएल लाइन लिन जाँदा टेलिकमका कर्मचारीले आफूलाई थर्काएको भन्दै ‘सेवा दिने संस्थाले जे मन लाग्यो, त्यही गर्न मिल्छ ?’ भन्ने प्रश्न गरे ।

यी र यस्ता प्रश्न टेलिकम सेवा प्रदायकको सेवाप्रतिको गुनासो हो । सूचना तथा सञ्चार मन्त्रालयले पटक–पटक सेवा सुधार गर्न सेवा प्रदायकलाई निर्देशन दिएको भएपनि अवस्था जहाँको तहीँ छ ।

‘साँझको समयमा सबैभन्दा बढी समस्या पर्ने गरेको छ । प्राधिकरणले समस्या समाधानमा जोड दिएको भन्दै स्पष्टीकरण दिने गरेको छ । तर, उपभोक्ताले सेवाको गुणस्तर प्रभावकारी भयो भनेर कहिल्यै अनुभव गर्न पाएका छैनन्’–सांसद दीपक कुइँकेलले गुनासो गरे ।

सांसद कमला पन्तले सेवा दिने संस्थामा हाकिमी प्रवृत्ति रहेको र उपभोक्ताको गुनासो सुन्ने धैर्यता नै नभएको भन्दै ‘सेवाग्राही संस्थामा नैतिक शिक्षा पढाउनुपर्ने भएको हो ?’ भन्ने सवाल राखिन् ।

सांसदको चर्को गुनासा र प्रश्न सुन्दै बसेका प्राधिकरणका अध्यक्ष झाले भने–‘प्राधिकरणले प्रति १० सेकेन्डको एक पल्स बनाएको छ । बढी शुल्क लिन पाइँदैन, लिइएको भए कानुनअनुसार कारबाही हुन्छ । प्राधिकरण कारबाही गर्न तयार छ ।’

प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर बढाउन पटक–पटक निर्देशन दिएको र अनुगमनसमेत गरेको भन्दै अध्यक्ष झाले समस्या आएको खन्डमा नागरिकले पनि प्राधिकरणलाई सुझाव दिनसक्ने बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको सेवालाई थप भरपर्दो, गुणस्तरीय, व्यावसायिक र सरल बनाउन प्रयासरत् रहेको बताइन् ।

आधारभूत टेलिफोन लाइनमा प्रयोग भएको पुरानो प्रविधिलाई परिवर्तन गरेर नयाँ अत्याधुनिक प्रविधि जडानकार्य सुरु भएको र एकाध महिनाभित्रै थप ८ लाख लाइनमा त्यस्तो प्रविधि जडान भइसक्ने भएकाले एडीएसएलमा कुनैपनि गुनासो नआउने प्रतिबद्धता व्यक्त गरिन् ।

कर्णाली र सेतीको पहाडी क्षेत्रमा सधैं समस्या
अर्थ समितिको बैठकमा सांसद गोमा कुँवरले कर्णाली अञ्चलमा साँझ परेपछि फोन नै गर्न नसकिने अवस्था रहेको भन्दै ‘राज्यले सधैं अँध्यारोमा नै राख्नुपर्ने के कारण आइलाग्यो ?’ भन्ने प्रश्न गरिन् ।

‘बिरामी भए भने पनि एम्बुलेन्ससमेत बोलाउन नसकिने अवस्था छ’–उनले भनिन्–‘सेवाको गुणस्तर छँदैछैन, १५ भन्दा बढी गाउँपालिका अझैपनि दूरसञ्चार सेवाको पहुँचमा छैनन्, किन यस्तो सौतेलो व्यवहार ?’

सांसद मदनकुमारी शाहले टीकापुरमा आधारभूत टेलिफोन सेवा जडान गर्न ९ महिना लागेको भन्दै सेवाप्रदायकको व्यवहारप्रति गुनासो गरिन् ।

समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमलाई थप व्यावसायिक र प्रविधिमैत्री बनाउन पहल गरिएको भएपनि सार्वजनिक खरिद ऐनलगायतका कानुनका कारण निजी क्षेत्रलेजस्तो सहजरुपमा काम गरिहाल्ने अवस्था नरहेको बताए ।

उनले टेलिकमलाई प्रतिस्पर्धी र मर्यादित बनाउन रणनीतिक साझेदार ल्याउने विषयमा पनि छलफल जारी रहेको, पूर्वाञ्चल क्षेत्रमा नयाँ ७०० र पश्चिमाञ्चलमा ३०० नयाँ टावर जडानकार्य सुरु गरिएकाले गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

समितिले कर्णालीलगायतका क्षेत्रमा दूरसञ्चार सेवामा देखिएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । रासस