१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु, आफन्त आक्रोशित


0
Shares

धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको लापर्बाहीले मृत्यु भएको आफन्तको आरोप छ ।

बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले जाँच गरेपनि भर्नाका लागि श्यया खाली नभएको भन्दै फर्काएका थिए तर बालकलाई च्याप्दै ल्याएपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अकास्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।

राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटकपटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताए ।

उनका अनुसार नर्सहरु मोबाइल चलाएर बसेका थिए । त्यसबेला काममा रहेका डा वैद्यनाथ ठाकुर भने कोठामा आराम गरेको नर्सले बताएका थिए ।

राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैँले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ तर नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताइन् ।

आज बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर दुई घण्टापछि छोडेको थियो ।

अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको जनाएको छ । रासस