१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘श्राद्धको प्रसाद खाँदा’ ५० जना बिरामी, १० को अवस्था गम्भीर


0
Shares

बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौं लागिएको छ ।

पिप्लेका भोजबहादुर आलेमगरको घरमा यही साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका १० जनालाई बुधबार बिहान एम्बुलेन्समार्फत् काठमाडौं लागिएको स्थानीय कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।

बिरामी पर्नेमा ध्रुवबहादुर लामा र कृष्णप्रसाद लामिछानेको परिवार छन् । बिरामी भएका २८ वर्षीय लामा, उनका आमा ५२ वर्षीया सन्तमाया, २५ वर्षीया श्रीमती सुशीला र पाँच वर्षीय छोरा सौरवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

यस्तै, ४० वर्षीय लामिछानेसहित उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी, छोरीहरु १६ वर्षीया सविना र १२ वर्षीया बिना, १४ वर्षीय छोरा सन्तोषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

श्राद्धको प्रसाद खाएर बिरामी भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पताल पठाइएको वडा नम्बर–५ का वडाध्यक्ष अनन्त नेपालले जानकारी दिए ।

बिरामी भएर गाउँमा नै रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेसहितको टोलीले उपचार गरिरहेको छ ।

गाउँमा रहेका ४० जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य हुँदै आएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिए ।

श्राद्धमा वितरण गरिएको अचार र सेलरोटी घरमा जम्मा भएकादेखि रोपाइँमा रहेका खेतालालाईसमेत लगेर वितरण गरिएकाले धेरैजनालाई असर गरेको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ ।

श्राद्धमा वितरण गरिएको रोटी बजारबाट किनेर ल्याएको मैदा र घरको चामलको पिठो मिसाएर बनाएको र सोही रोटी विषाक्त भएको अनुमान गरिएको छ । रासस