
-प्रकाश लम्साल/ईमेज
परम्परागत तरिकाबाट खेती गरिँदा उत्पादन पनि कम र श्रम र समय पनि धेरै लाग्ने हुँदा जिल्लाका किसानहरुले आधुनिक प्रविधि अपनाउन थालेका हुन् ।
मध्य तराईमा पहिलो पटक समाज सुधार कृषि सहकारी संस्था डुमरबानाले किसानलाई आधुनिक यन्त्रको प्रयोग बिधि सुरु गरेपछि बारामा आधुनिक प्रविधिको यन्त्र प्रयोग गर्नेहरु बढेका हुन् ।
धान खेतीमा परिचय बनाएको बाराले पछिल्लो समय मलिलो जमिनमा अरु नाफामुखी कृषि खेती गर्न थालेको छ । जसका कारण धान खेती गर्ने कम हुँदै गएका छन् ।
तर आधुनिक प्रविधिको प्रवेशसँगै धान उत्पादनले पनि ब्यापकता पाउने देखिन्छ । थोरै जग्गा हुने सामान्य किसानले पनि यो यन्त्र र बिधि प्रयोग गर्न सक्ने भएकाले पहुँच पनि बढेको छ ।
निर्वाहमुखी कृषिलाई आधुनिक उपकरणमार्फत् ब्यावसायीकरण गर्ने शुरुवातका रुपमा धान खेतीमा प्रयोग गरिएको संस्थाका प्रबन्धक रबिन्द्र राजभण्डारी बताउँछन् ।
धान खेतीमा बैज्ञानिक पद्धती जोडिनुपर्छ भनेर बिउ उत्पादनदेखि रोप्ने, गोड्ने, बिषादी छर्ने, काटने, चुट्नेसम्ममा यन्त्रको प्रयोग गरिएको र सफल पनि भएको उनको भनाइ छ ।
जनशक्ति अभाव, उत्पादनमा कमी र बजार मूल्यसमेत कम पाउँदा अन्य बालीमा लागेकाहरु पनि आधुनिक यन्त्रको प्रयोगपछि भने धान बालीतर्फ नै उत्साहित बनेका छन् ।
आफ्नो परिवारलाई पुग्ने मात्र खेती गर्ने र अरु जग्गा बाँझै छाड्नेहरुलाई त यो विधि बरदान नै सावित भएको हो ।
यन्त्रको सहयोगबाट बाँझो छाड्ने गरेको जमीनमा पनि आफैले धान खेती गर्न थालेको कृषक बताउँछन् ।
खर्च, श्रम र समयमा आधा नै बचत हुने भएपछि यस यन्त्रको प्रयोग र माग जिल्लाभर बढेको छ ।
जिल्लाकै सफल कृषकमा दरिएकी सीमा ठकुरी यन्त्रको प्रयोगले किसानलाई धेरै राहत भएको बताउँछन् ।
एक बिगाहमा धान रोप्न दिनभर २० जना मजदुर लाग्नेमा यस यन्त्रको प्रयोगले तीन घण्टामै सकिन्छ ।
व्यक्तिले उपकरण खरीद गर्दा महगो पर्ने हँुदा समाज सुधार सहकारीले २०७१ सालबाट अभियानकै रुपमा आफना किसान सदस्यलाई यो प्रणालीमा काम शुरु गरेको थियो ।
अहिले भने अरु किसानमा पनि यसको पहुँच सहज बनाइएको छ ।
जेहोस् परम्परागत बाटो छाडेर आधुनिक प्रविधिको प्रयोगले समय र श्रमको मात्र बचत भएको छैन, कृषि उत्पादन पनि बढ्दा कृषकलाई लाभैलाभ भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्