
ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो ।
दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिएपनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको समय सकिएपनि व्यवसायीले भवन निर्माण अलपत्र बनाउँदा ग्रामीण भेगका जनता त्यसको मारमा परेका छन् ।
प्राविधिकले अनुमान गरेको भन्दा न्यून मूल्यका ठेक्का हाल्ने र पछि बहाना बनाएर ठेक्का छोड्ने प्रवृत्ति बनेकाले पनि ठेकेदारले भवन बनाउन नसकेको हुनसक्ने स्थानीयवासीको भनाई छ ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक स्वास्थ्य चौकीे भवन पाँचवर्ष बित्दासमेत ठेकेदार कम्पनीले अझै पूरा गरेको छैन । विसं २०६९ मंसिरमा सम्पन्न गर्ने गरी कोशी एण्ड न्यौपाने बिएन जेबिले रु १ करोड २ लाखमा सो भवनको ठेक्का लिएको थियो ।
हालसम्म भूकम्पको कारण देखाएर सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । त्यसैगरी, गौरीशंकर गाउँपालिकामा रहेको जुँगु स्वास्थ्य चौकी पनि समय सकिएको दुईवर्ष भइसकेको छ ।
विसं २०७२ माघमा कबोल बमोजिम भवन हस्तान्तरण गर्नुपर्ने भएपनि हालसम्म सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । रु १ करोड ९५ लाखको लागतमा सम्पन्न गर्नेगरी सुवर्ण सुन्दर माई जेबीले सो भवन निर्माणको ठेक्का लिएको थियो ।
त्यसैगरी, मेलुङ गाउँपालिकामा रहेको मेलुङ स्वास्थ्य चौकी निर्माण गरेर बझाउनुपर्ने समय तीन वर्ष बित्दासमेत भवनको हस्तान्तरण गरिएको छैन ।
त्यस्तै, बिगु गाउँपालिकामा रहेको लादुक स्वास्थ्य चौकीे भवन समय सकिएको चारवर्ष बित्दासमेत निर्माण भइसकेको छैन । विसं २०७० फागुनमा पूरा गर्ने गरी रु १ करोड ५ लाखको लागतमा सो भवन निर्माणको ठेक्का दाप्चाबारा जेबीले लिएको थियो ।
कालिञ्चोक गाउँपालिका रहेको सुन्द्रावती स्वास्थ्य चौकीको भवन पनि अलपत्र छ । विसं २०७२ चैतमा सक्नेगरी कन्काई इन्टरनेसनलले रु एक करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको भएपनि हालसम्म सो स्वास्थ्य चौकीको भवन हस्तान्तरण हुन सकेको छैन ।
शहरी डिभिजन कार्यालय दोलखा शाखाका प्रमुख एकराज अधिकारीले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दासमेत अटेर गरेको बताए । अटेर गरेर बस्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरिएको पनि अधिकारीले जानकारी दिए । ‘हामीले पटक–पटक निर्माण व्यवसायीलाई काम पूरा गर्न ताकेता गरेका छौँ, तर निर्माण व्यवसायीले अटेर गरेर बसेका छन्, छिट्टै कालोसूचीको प्रक्रिया थाल्छौँ’ – उनले भने । रासस
प्रतिक्रिया दिनुहोस्