९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपतिलाई १६ करोडको कार र कमेडी सर्कसका हाम्रा प्रधानमन्त्री


0
Shares

आलङ्कारिक राष्ट्रपतिको कुर्सीमा विराजमान महामहिम विद्यादेवी भण्डारीलाई आफूले चढेको कारले नपुगेर १६ करोडको कार चढ्ने फूर्ति गर्नु पर्‍यो । उनले सरकारसँग ठाडै माग गरेकी छन् । क्या अचम्म ! जनता भूकम्पको दोस्रो किस्ता ऋण नपाएर फाटेको पालमुनि बर्खा काट्न बाध्य छन् । मुङ्लिनको ३४ किलोमिटर बाटो पार गर्न सवारी साधनलाई ४-४ घन्टा लाग्छ । बाटो कहिले बनी सक्ने हो त्यो थाहापत्तो छैन । मेलम्ची खानेपानीको सपनाले राजधानीबासीलाई ‘राजनीतिक ब्लाकमेलिङ्’ गर्न थालेको बीस वर्षभन्दा बढी भयो । गणतन्त्र ल्याउने पहिलो पुस्ता मेलम्ची–मेलम्ची भन्दै माटिए । अझै पानी आउने पत्तो छैन । पदासिन भए भन्दैमा देशले नथेग्ने सुविधाहरू माग्न तपार्इंहरू जस्तालाई अप्ठ्यारो लाग्नु पर्ने हो, हैन ?

तर नेपालमा त्यो लाज भनेको जिनिश ठूला र पदासिन नेतालाई भएको भए आजका दिनमा यो मुलुकको हविगत यस्तो हुने थिएन । जानकारहरूका शब्दमा त्यतिको महँगो कार चीनका राष्ट्रपति जि सिन पिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चढ्नेभन्दा महँगो हो । गरिब देशका नेताको स्वाँङै बढी । यस्तै अवस्थालाई हेरेर हाम्रा पुर्खाहरूले ‘भाङ्गाको टोपीलाई गुहेँलाको फूल’ उखानको अभिर्भाव गरेका होलान् कठै ! अझ देश संघीयतामा जाँदै छ । सात सातवटा प्रान्तीय सरकार र केन्द्रीय सरकार अनि देशभरिका जनप्रतिनिधिलाई दिइने सेवा सुविधालाई हाम्रो जस्तो देशले कतिन्जेल थेग्न सक्छ या सक्दैन, त्यो कहिले गहिरिएर विश्लेषण गर्नु भएको छ ? के देश तपाईंले शुभविवाहमा दाइजोमा पाएको हो ? व्यवस्था तपाईंको पेवा हो ? नागरिकका हैसियतले देशका जुनसुकै दूरदराजमा रहे–भएका जनताले यो प्रश्न गर्न पाउने कि नपाउने ? थाहा पाइराख्नुस्, जिम्बाबेका राष्ट्रपतिलाई त्यहाँको सरकारले दिएको सरकारी आवासमा नबसेर उनी आफ्नै सानो झुप्रोमा बस्छन् ।

संसारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक नम्बरको जोकर’, सन्काहा र हावा राष्ट्रपति मान्दछ तर अब त्यो विशेषण र आफ्नै देशका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले उल्टापाल्टा र अन्टसन्ट विशेषताहरू देखाउन थालेपछि यहाँ सरेको छ । हिन्दीको कमेडी सर्कस अब दर्शकहरुले नहेरे पनि भयो । देशकै राष्ट्रपति र प्रधानमन्त्रीले जोक गरेपछि हालैको बीबीसी साझा सवालमा सहभागीहरूले प्रश्न सोध्दा देखाएको कार्यकारीको रबैया र सप्तरीका बाढीपीडितहरू सामु प्रमले राहतको प्याकेज घोषणा गर्दा गरेको भाषणले देउवामा समेत देश, सिष्टम र संवेदनाका पक्षमा सामान्य ज्ञानसमेत नभएको देखियो । कति हाँस्नु ? जनता त हाँसेरै मर्ने भए बा !

गर्मीको सिजन छ । राजधानीका बाटा घाटाहरू हिलो पानीले हिलाम्मे बनेका छन् । बाल, वृद्ध र वनिता जुनसुकै बेला अस्पताल जानु पर्ने भएको छ । अलि अघि धूलोले सडकमा दिउँसै बत्ती बाल्नु पर्ने हुन्थ्यो अब मेलाम्ची नानीले आफ्ना पाएपका हाँगा बिच्छाउने निहूँमा सडक एक किसिमको धान रोप्ने खेत र पोखरीझैँ बनेको छ । अस्पताल जाऊँ भने पनि जनता हिँस्रक अस्पतालबाट तर्सने थाले । मनमोहनका सुनाममा खोलिएको अस्पतालमा पत्थरीको बिरामीलाई अप्रेसन गर्ने निहूँमा किडनी नै झिकेर फालिएको समाचार आयो । मेडिकल शिक्षाको माफियागिरी विरुद्धमा नानीदेखिको बल लगाएर अनसन बस्ने डा. गोविन्द केसी मृगौलाजस्तो शरीरको अत्यावश्यक अङ्ग नै अस्पतालले झिकेर फालिदिँदा चुप लाग्नुको अर्थ खोजिँदैछ– यतिखेर ।

उता एमालेकै जुझारू नेतृ रामकुमारी झाँक्रीले एकजना दुर्गमका शिक्षकलाई फेसबुकमा स्टाटस राखेको निहूँमा खुट्टा भाँचिदिने ऐलान गरिछन् । पहिलो र दोस्रो चरणको चुनावमा एमालेले बहुमत प्राप्त गरेको खुसीयालीमा एमालेका नेताहरूको फूर्तिफार्ति बढेको हो कि ? अचेल जनताहरू बाहिरफेर चियागफमा यस्तै प्रसङ्ग झिकेर कुरा गर्न थालेका छन् ।

यो मुलुकको हविगत देख्दा सरकार लुटेराको भेषमा देखिएको छ । सरकारी रबैया र तिनका आसेपासेहरू दोस्रा र तेस्रा निरोका अवतारका रूपमा भटाभट देखिएका छन् । जनताले आफ्नो छनोटमा भए गरेका बद्मासभन्दा ‘कम बद्मास’ छान्नै पर्ने स्थितिको अन्त्य जबसम्म चुनावी प्रक्रियामा हुँदैन तबसम्म देश अघि बढ्न सक्दैन । अब हुने प्रदेश र संघका चुनावमा ‘नो भोटिङ’ को अनिवार्य व्यवस्था मतपत्रमा गरिनै पर्ने टड्कारो आवश्यकता देखियो । अहिले चुनावमा चुनिएर आएका र अबका दस वर्षसम्म चुनावमा आउन सक्ने सबै प्रमुख र ससाना पार्टीका नेता (लेता ?) का अनुहारको व्यतिरेकी विश्लेषण गर्ने हो भने पनि घुमिफिरी पश्च चिन्तनका गरिब साथै नयाँ सुझ एवम् सोच नभएका नेतालाई छान्नुको कुनै विकल्प हामी जनतासँग छैन । त्यसो भन्दैमा नयाँ कुराका लागि खबरदारी गर्न पनि छाड्नु हुन्न ।

रहँदाबस्दा ठूलो हुँदै गएको दल एमालेबाट बामदेव गौतम, सुवाष नेमाङ र ईश्वर पोखरेल, कांग्रेसबाट उपद्रो तल झरेर प्रमको खोजी गरियो भने क्रमशः रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा.सशाङ्क कोइराला र डा. रामशरण महतहरूले नै गणतान्त्रिक प्रममा धोती फेर्ने वातावरण बन्दै गएको छ । माओवादी केन्द्रमा भने अझै प्रचण्डले तेस्रोपटक प्रम भएर ‘ह्याट्रिक’ गरे भने अन्यथा नलिए हुन्छ । राजनीतिको समर सकिएको हो । अब विकासे राजनीतिका लागि स्थानीय निकायको चुनाव पनि हुँदैछ । त्यो सकिएपछि पनि अझै जनतालाई के इस्युमा झुक्याउने भन्ने सकुनी सोचमा पार्टीका नेताहरू लागिरहेका छन् । संविधान संशोधनको ‘हगे हग मुते काट्छु’ जस्तो मधेशवादी र एमालेको रोइलोले देशलाई पक्कै पनि जातीय र क्षेत्रीय दंगामा नलैजाला भन्न सकिन्नँ । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी भन्छन्– ‘मुलुक अब जाने भनकै जातीय र क्षेत्रीय मुद्दामा हो । एकपछि अर्को गर्दै यहाँ कृत्रिम संघर्षका सुनामीहरू मच्चाउने गोटी चालिँदै गरिएको बुझिन्छ ।’ एउटा सानो स्कुले बच्चाले पनि हाम्रा नेताका तीन न तेह्रका पाङ्दुरे कुरा पत्याउने मुडमा छैन ।

देश हाँक्न भिजन, मिसन र गोल चाहिन्छ । अहिलेका नेताहरूमा अप्रिय निर्णय लिएरै सही त्यस्तो किसिमको भिजन भएको भेउ जनताले पाउन सकेका छैनन् । चिनीयाँहरू नेपाललाई सुनखानीमा सुतिरहेको देश ‘स्लिपिङ् ओभर अ गोल्ड माइन’ भन्छन् । नेपाली नेताहरूलाई त्यसको हेक्कै छैन । या बुझेर बुझ पचाइरहेका छन् । बास्तवमा साझा सवालमा त्यो युवा जसले सिङ्गापुरको उदाहरण दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न राख्यो, त्यो औसत नेपाली युवाप्रश्न र आक्रोश हो । यहाँ आफू चौथोपटक प्रधानमन्त्री हुनुको महत्व शेरबहादुरले नेपाली चुस्तदुरुस्त र प्रविधिमा अपडेट युवापुस्तालाई बुझाउन सक्दैनन्, कारण उनीसँग त्यस्तो गतिलो सूत्र छैन, जसले देश बनाउन सकियोस् । उनी विकासका संवाहक सूत्राधार पनि होइनन् । उनको ऊर्जा तीन–तीन पटक प्रधानमन्त्री हुँदैदेखि भोगिएको हो । त्यो युवा जसले प्रधानमन्त्रीलाई लल्कार्‍यो उसले हान्स एन्डरसनको इम्पेरियर न्यू क्लोथलाई पुनः नेपाली परिवेशमा सम्झाउने काम गरेको छ । अहिलेको बादशाह (?) जो आफूलाई इलेक्टेड भन्छ, त्यो राज्य सञ्चालनका मामलामा जताततै चुकेको छ । केही समयअघि प्रहरी महानिरीक्षक चयनको मामलामा चुक्यो । प्रधानन्यायाधीशलाई बेला न कुबेला महाभियोग लगाउने मामलामा चुक्यो । जनता अहिले १७ सालका, ४६ सालका र ६२ सालका मानसिकतामा छैनन् । जतिजति नेताहरू आफूलाई देखे जानेको छु भन्दैछन् ती भन्दा नेपाली जनता दिन दुगुना रात चौगुना बाठा भैरहेका छन् । मिडिया क्रान्ति र खुलापनले मानिसलाई क्षणपलमा विश्वको जानकारी दिन्छ । माझी औंला र चोरी औंलाले स्मार्ट फोनमा आएका हजारौं र लाखौं जानकारीलाई दिमागी एप्समा सेभ गर्ने क्वालिटी भएका जनतासँग के–कसरी व्यवहार गर्नु पर्छ ? के–कसरी डिल गर्नु पर्छ भन्ने पनि हाम्रा नेतालाई थाहा रै’नछ । साझा सवाल हेरेपछि त्यो कुराको एहसास भएको छ । नेपाली नागरिक हुनुका नाताले म कस्तो देशको प्रधानमन्त्रीबाट शासित भैरहेको रहेछु भन्ने एङ्गलको सोचले कुरीकुरी लागेको छ ।

अझ सप्तरीको घटनाले त देउवाको बेसुद्धिलाई अझ घिउ थप्ने काम गरेको छ । लोक कथामा ‘बालविवाह गरेर घर आफ्नो गएकी सानी बाल पात्राले जेठाजु अघिल्तिर आउँदा आफ्नो घाँघरले केस ढाक्दा ‘सु’ देखिएको प्रसङ्ग’ यहाँ साझा सवाल र सप्तरी घटनाले उजागर गरेको देखियो । प्रधानमन्त्रीज्यू तपाईं नेपाली कांग्रेसको सभापति र कांग्रेसको मात्र प्रम हुनु हुन्न । तपाईं त स्वतन्त्र गणतान्त्रिक देश नेपाल र ३ करोड नेपालीको समेत साझा प्रधानमन्त्री हुनुहुन्छ । तपाईंका काँधमा केवल तपाईंले भन्नु भएझैँ प्रदेश सभा र संघ चुनावको दायित्वमात्र छैन । नेपालका दस, बीस, तीस र पचास वर्षका भिजन, मिसन र गोल गर्ने जिम्मेवारी र विश्वासहरू पनि छन् । आखिर इतिहासमा लामो समय तपाईंले बोल्नकै लागि पञ्चायतसँग गर्नु भएको संघर्ष यो आजको दिन ल्याउनमा लगाउनु भएको छ । हिजो तपाईं बोल्न खोज्नु हुन्थ्यो, पञ्चायत तपाईंलाई ‘बढ्ता नबोल’ भन्थ्यो । आज सम्पन्नता र विकासका लागि युवापुस्ता जानकारी लिन बोल्न खोज्छ । प्रत्युत्तरमा तपाईं भन्दै हुनुहुन्छ– ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।’ यदि तपाईं गणतन्त्रको पक्षपाती प्रम हो र जनताको बोल्ने अधिकारका लागि विगत्मा साँच्चै लड्नु भएको हो भने आज युवा पुस्तालाई प्रतिप्रश्न गर्ने साहस कसरी आयो ? उत्तर सबै युवा चाहन्छन् । प्रश्न गर्ने संस्कार नै प्रजातन्त्र र अझ गणतन्त्रका गहना हुन । हुन्छन् । हामी जनताको प्रश्न गर्ने अधिकार राज्यले खोस्दै ‘तँ चुप लाग’ भन्ने हो भने एकदलीय तानाशाही कम्युनिष्ट शासन व्यवस्था नै ठिक हुन्थ्यो । पत्रपत्रिका पढ्नु हुन्छ र अनलाईन हेर्नु हुन्छ भने आज तपाईंलाई विदुषक बनाएर मिडियाहरू भाइरल भैरहेका छन् ।

रूखो र अप्रिय शब्द बोल्ने हो भने तपाईंलाई जनताले छिमेकी मोदी र डोनाल्ड ट्रम्पसँग सधैँ तुलना पनि गरिरहँदैनन् । बिहारकै पूर्व मुख्यमन्त्री लालु यादवसँग पनि तुलना गरेर हेर्ने छन्– नेपाली जनताले । गम्नुस् । शान्त चित्तले एकान्तमा गम खानुस् युवा आक्रोशमा विकास र सौविध्यताका सपना आफ्ना आँखा भरिभरि सँगालेका छन् जनताले र ती सपना उनीहरू आफ्नो जीवन कालमै सफल भएको देख्न चाहन्छन् । के तपाईंलाई यसमा जश लिएर अमरत्वको अंश ग्रहण गर्न मन लाग्दैन हो ? आगे तपाईंको विचार ।