
गर्भावस्थामा बनावटी समस्याका कारण देखापर्ने पेटको ट्युमरका कारण बालबालिकालाई कुपोषणको समस्या देखापर्न थालेको चिकित्सकहरु बताउँछन् ।
प्यूठान घर भएकी १० वर्षीया शिला नेपालीको मुहारमा छुट्टै चमक देखिएको छ । ८ महिनाको उमेरदेखि पेटमा पलाएको ट्युमरका कारण समस्यामा परेकी शिलाले नयाँ जीवन पाएकोमा उनको परिवार पनि औधी खुसी देखिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण १० वर्षसम्म ट्युमरको उपचार नपाएकी शिलालाई पेटमा रहेको ट्युमरकै कारण कुपोषणको समस्यासमेत थियो । जसका कारण उनको उमेरअनुसारको तौल वृद्धि हुन सकेको थिएन ।
दिनानुदिन ट्युमर बढ्दै गएपछि हिँड्न, बस्न र स्वास फेर्नसमेत समस्या थियो । पेटमा ७ केजी ट्युमर भएकैले उनले विद्यालयसमेत जान पाइनन् ।
नगरपालिका र स्थानीयको सहयोगमा एक महिनाअघि काठमाडौंको कान्तिबाल अस्पतालमा ल्याइएकी उनको अस्पतालले निःशुल्क शल्यक्रिया गरी शरीरबाट ७ केजीको ट्युमर निकालिएको छ ।
सातजना चिकित्सकको टोलीले तीन घन्टा लगाएर पेटमा पलाएको ट्युमरको सफल शल्यक्रिया गरी छोरीलाई नयाँ जीवन दिएकामा पिता जीवन नेपालीले अस्पताललाई धन्यवाद दिए ।
गर्भावस्थामा नै बनावटी समस्याका कारण मेट्रो पेरिटोनियर ट्युमरको समस्या देखापर्न थालेको चिकित्सकहरु बताउँछन् ।
बच्चा जन्मिएलगत्तै थाहा नपाउँदा ट्युमर बढ्दै जाने र समयमै उपचार नपाउँदा बालबालिकाको मृत्युसमेत हुने गरेको छ ।
रेट्रो पेरिटोनियर ट्युमर भनिने यस ट्युमर पछिल्ला दिनमा बालबालिकामा खुबै देखिन थालेको छ ।
पेट बढ्ने, शरीर दुब्लाउने र कमजोर हुँदै जानेजस्ता लक्षण देखापर्नासाथ अस्पताल जान चिकित्सकहरु सुझाउँछन् ।
ट्युमर बढ्दै जाँदा क्यान्सर हुने सम्भावनासमेत हुने भएकाले बेलैमा होसियारी अपनाउन उनीहरुले सुझाव दिएका छन् ।
गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गर्दा पनि यो समस्या पत्ता लाग्ने चिकित्सकहरुको भनाइ छ ।
चेतनाको अभाव, सुरुकै अवस्थामा अस्पताल नजानुजस्ता कारणले ग्रामीण क्षेत्रका धेरै बालबालिका यस्ता रोगबाट प्रताडित बन्दै गएका छन् ।
शरीरमा रहेको पोषण सबै ट्युमरले सोस्ने हुँदा कुपोषणको समस्यासमेत देखिने र तौल वृद्धि नहुने चिकित्सकको भनाइ छ ।
यस्ता ट्युमरको शल्यक्रिया गरेका बालबालिकाको पोषणयुक्त खाना खाएर तौल बढाउनुपर्ने हुन्छ । ट्युमर रगतमा प्रवेश गरेमा फेरि ट्युमर पलाउनसक्ने जोखिम उच्च रहन्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्