९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मेरिटलाई पन्छाएर किन कमजोरलाई बेचिन्छ डाक्टरी सर्टिफिकेट ?


0
Shares

तत् तत् मार्गबाट पढाईको डिग्री, सर्टिफिकेट लिनेहरु केवल सर्टिफिकेटका हकदारमात्रै हुन्– योग्यता, क्षमता र दक्षताका संवाहक र पथपर्दर्शक होइनन् । धेरैलाई सर्टिफिकेट बाँड्नु, दिनु, पैसाको बलमा बेच्नु र रिझाउनु समस्याको सामाधान होइन, हुन सक्तैन कदापि । सबैलाई रिझाउने, सबैलाई मौका दिने नाममा अब्बलतालाई लात मारेर पैसा, पहुँच र पावरको आधारमा सर्टिफिकेट वितरण गर्ने हाम्रा शासकहरुको जुन मानसिकता छ, यो हाम्रो लागि ठुलो घाटा र चुनौतिको विषय हो । कालान्तरमा यसले कहिल्यै पुरिन नसक्ने घाऊ र कहिल्यै निको नहुने पीडा दिएर जान्छ । हामी, हाम्रो स्वास्थ्य, शिक्षा, न्याय र देशको समग्र क्षेत्र अनि प्रणालीमा यस्तै अभ्यास गर्न उद्यत छौ । जुन कहिल्यै बिसेक नहुने क्यान्सरको रुपमा हाम्रो देशरुपी शरीरभरि फैलिएको छ, फैलने र मौलाउनेक्रममा तीब्रता पैदा गर्दैछ । जुन घातक र प्राणहरण गर्ने हो भन्ने जान्दा जान्दै पनि हामीलाई चेत खुलेको छैन । हाम्रो चेत खुल्छ चै कहिले ?

जब धेरैभन्दा धेरै कच्चा डाक्टरले धेरै भन्दा धेरै बिरामीलाई सजिलै यमपुरीको यात्रा गराउने छन्, जुन यात्राको शृंखला शुरु भैसकेको पनि छ । मेडिकल शिक्षामा जुन विकृति र व्यापार छ यो निश्चयनै बिकराल, विसंगतिपूर्ण र बेपर्वाह छ, जसको राज्यबाट प्रभावकारी हस्तक्षेप, नियोजन र नियन्त्रण जरुरीमात्र हैन, अत्यावश्यक छ । मेडिकल शिक्षा जस्तो विषयमा राज्यले जुन नीति अख्तियार गरेको छ, यो लाजमर्दो ,स्वास्थ्य र शिक्षा नीतिले ब्यापारिक प्रयोजनको शिक्षाले देश धमिराले खोक्र्याएको रुखजस्तो भएको छ । यसप्रति सरकार, देशको प्रवुद्ध वर्ग, राजनीतिक पार्टीहरु उदासिन छन् । बरु ब्यापारिक प्रयोजनका लागि खोलिएका कलेजहरुको प्रवर्द्धन र व्यापार विस्तारको लागि आफ्नो प्रतिष्ठा बेच्न लालायित छन् । राज्य जनसरोकारको चासो र गम्भिर जनस्वास्थ्यको विषयमा आँखा चिम्लेर बसेको छ ।

स्वास्थ्य, शिक्षालाई व्यापार बनाएर ठगि खाने पेशा र कमाउधन्दाको भाँडो बनाईएको छ । स्वास्थ्यको पेशागत धर्मलाई व्यापार ब्यबसाय र आय आर्जनको रुपमा बुझिएको छ, स्वास्थ्य धर्म र सेवाभाव आजकल आर्जन गर्ने सर्टिफिकेट बेच्ने ब्यबसायमा रुपान्तरण भएको छ । डाक्टरी सर्टिफिकेट मोलमोलाईमा बिक्रीवितरण, लिलाम बढाबढमा चलेको छ । मेडिकल कलेजले विद्यार्थी लुट्ने छुट पाएका छन् । मेडिकल कलेजको मनोमानी र दादागिरीको सामु नियामक संस्था र मन्त्रालय चु सम्म बोल्न सकेको देखिदैन । नियमाक संस्था र त्यसका प्रतिनिधिहरु कि निरिह छन् कि कर्तब्यच्युत छन्, कि पैसाको लालचमा बिक्री भएका छन् भन्दा अतिशय र प्रतिशोध नहोला । पैसा बल र दादागिरीमा किन बेचिन्छ डाक्टरी सर्टिफिकेट ? राज्य केहि मुठीभर ब्यापारी, दलाल र मृत्युका ब्यापारीहरुको लागि हो कि आम सर्वसाधारण नेपालीको लागि ? गरिब नेपालीका छोरा छोरीले पढ्ने शिक्षा किन यति महँगो ? किन जथाभावी चर्को शुल्क असुलिन्छ शिक्षामा ? लोक कल्याणकारी राज्यमा शिक्षा स्वास्थ्य र जनताको आधारभूत आवश्यकता कसको पहुचमा हुनुपर्ने हो ? जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने स्वास्थ्य र शिक्षा मन्त्रालयको स्वास्थ्य सम्बन्धि एकीकृत नीति खोइ ? पवित्र शिक्षण संस्थामा किन अब्बलाता वरिष्ठता, क्षमता र योग्यताको आधारमा पदाधिकारी नियुक्त गर्ने वैज्ञानिक मापदण्ड र प्रक्रियाको अवलम्बन नगरी पार्टीगत संलग्नता र दलीय भागबण्डाको आधारमा नियुक्ति गरिन्छ ? लोकतन्त्र भनेको केहि सिमित र ठुला पार्टीहरुको सिण्डिकेटतन्त्र र लुटतन्त्र हो ? सरकार भनेको दल विशेषको हुन्छ कि देश विशेषको ? सरकार भनेको पूर्ववर्ती सरकारहरुको निराबिच्छिन उत्तराधिकारी हो कि खण्डीय स्वरूप ? विगत सरकारको निर्णय कार्य र ब्यवहारको स्वामित्व ग्रहण जुनसुकै सरकारले लिने नैतिक दायित्व र शासकीय स्वरूप किन भिन्न र छिन्नभिन्न पारिन्छ ?

अखबारहरुमा पढ्न पाइने यी र यस्ता विषय र सन्दर्भले सरकारको कानमा बतास किन चल्दैन ? ‘डाक्टरी पढ्न अब्बल विद्यार्थी पन्छाएर पैसाको लागि कमजोर विधार्थी भर्ना’ । ‘मेडिकल शिक्षामा मौलाएको बेथिति र विसंगति सरकारको गलत रवैयाविरुद्द डाक्टर केसी पुन अनशन बस्ने’ । ‘सर्वोच्च अदालतको आदेश मेडिकल कलेजले मानेनन्’ । ‘मेडिकल कलेजले मनपर्दी शुल्क असुली’ । ‘योग्यताक्रम मिची जथाभावी भर्ना, लाखौको चलखेल, मेरिटका विद्यार्थी भर्ना गर्न अस्विकार’ । ‘नियम अनुसार भर्ना पाउनुपर्ने माग गर्दै डाक्टरी विद्यार्थीको धर्ना’ ।

डाक्टर गोविन्द केसी के साच्चै पागल हुन् ? डाक्टर गोविन्द केसीलाई मात्र किन यति धेरै पोल्छ राज्य संरक्षित लुट र ठगीले ? कुन स्वार्थको लागि डाक्टर केसी सधै अनशन बस्ने हठ गर्छन ? डाक्टर केसीको हठले कुन स्वार्थ समुहको सेवा गरेको छ ? यसको गहिरो जवाफ र उत्तर खोज्नु हरेक सचेत नेपालीको कर्तब्य हो । यदि डाक्टर केसीका माग गलत र स्वार्थ प्रेरितमात्र हुन् भने किन दशौं पटकसम्म सरकार उनको माग सम्बोधन गर्छु भनेर कान समाएर उठबस गर्छ ? जवाफ यहि हो सरकार उनले उठाएको आवाज सत्य निष्ठा र त्यागमा दम देख्छ, उनको नैतिकबल सामु बारम्बार घुडा टेक्छ सम्झौता गर्छ, हरेक सम्झौता अब अन्तिम हुनेछ भनेर बक्छ लिखतको लामो पन्ना पट्याएर लान्छ तर कार्यान्वयनको तहसम्म जान सधै खुट्टा लुलो गर्छ । यसको पनि सिधा र सपाट जवाफ हो सरकार आम नेपालीको स्वास्थ्य भन्दा केहि काला ब्यापारीको आर्थिक स्वास्थ्यको बढी चिन्ता र खातिरदारी गर्छ । काला ब्यापारीहरुसँग सरकारको लाभको लेनदेन हिसाब किताब छ । डाक्टर केसी लामो समयदेखि आफ्नो जीवन दाउमा लगाएर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा गुणस्तरीय बनाउन र सबै नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुच स्थापित गर्न लडेका छन् । आम नेपालीको साथ सहयोग र समर्थन पनि छ तर सरकार सम्झौताको एउटा कागतको खेस्रोमा सहिछाप गरेर आफ्नो कर्तब्य गरेको सम्झन्छ र आँखा चिम्लेर यस क्षेत्रको विकृति चुपचाप सुनिरहन्छ । अब्बल, मेरिटमा रहेको विद्यार्थी पढ्न नपाउने तर कमजोर विद्यार्थी पैसाको बलमा पढ्न पाउने हामी मत्स्यन्यायको राज्यमा छौ भन्ने भान परिरहन्छ । मेरिटमा पर्ने विद्यार्थी भर्ना पाउँ भन्दै अदालतको ढोकामा पुग्नु पर्ने ? अनि पैसावाल तर कमजोर विद्यार्थीको लागि मेडिकल कलेजले रातो कार्पेट बिछ्याउने हामी कुन गुणस्तरको शिक्षा र स्वास्थ्यमा निर्भर छौ ? यो बिकृति र विसंगतिको विरुद्ध पुनः लड्नुपर्ने र जतिपटक लडन परे पनि नथाक्ने सत्य, निष्ठा र न्यायको लडाई जिती छाड्ने उद्घोस गर्छिन् डाक्टर्स सोसाईटी अफ नेपालकी महासचिव डाक्टर तोसिमा कार्की । अब्बल हुनु योग्यता होइन भने पैसाको बिटो बोक्नु योग्यता कसरी हुन्छ ? ‘हामी शासक सरकारलाई सेवक सरकार बनाउन सधै लडिरहन्छौ । योग्यता, क्षमता र खुवी हर क्षेत्रको मापदण्ड हुनुपर्छ अन्यथा हाम्रो आवाज सधै बुलन्द रहन्छ,’ डाक्टर कार्की थप्छिन् ।

एघारौं पटक अनशन बस्ने तयारीमा रहेका डाक्टर गोविन्द केसी राज्यको यो गलत रवैया र धोकाघडीको तिब्र विरोध र रोष प्रकट गर्दै आफ्नो ज्यान बलिदान दिन हरहमेसा तयार रहेको कुरा सगर्व भन्छन् । ‘सत्य, न्याय र निष्ठाको लागि, ३ करोड नेपालीको सवल स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य शिक्षाको लागि मेरो यो सामान्य हाडछालाको काया तलमाथि भए पनि कुनै ठुलो कुरा हुन्न । बरु गरिब दिनहिन नेपालीको स्वास्थ्यको लागि हाँसी हाँसी सबका सामु मर्दा नै मलाई मजा हुन्छ, मेरो जीवनले सच्चा सार्थकता पाउँछ,’ जीवनको सार्थकता कुनै ठुलो उपलब्धि प्राप्त गर्नुमा छ भन्ने कुरामा डाक्टर केसी ढुक्क छन् । शिक्षामा सवैको पहुँच यो सबैले भन्ने नारा र फलाक्ने धारणा हो तर डाक्टर के सी ‘शिक्षामा सबैको पहुँचमात्र हैन, गुणस्तरीय शिक्षामा सबैको पहुँच’ भन्ने कुरामा बल दिन्छन् र सो मान्यताको वकालत गर्छन् । शिक्षा दिनु, प्रमाणपत्रको भारी बोकाई दिनुमात्र कुनै पनि निकायको कर्तब्य होइन बरु गुणस्तरीय शिक्षा दिनु विश्व बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने शिक्षा दिनु चैँ ठुलो कुरा र उपलब्धि हो । गणनाको लागि शिक्षा होइन, अब्बलता र क्षमतावान हुनु चै शिक्षाको मूल धेय हो । शिक्षा देखाउने प्रमाणपत्र मात्र होइन ब्यबहारमा लागू गर्ने आवश्यक विधि र पद्धति हो ।

हामीकहाँ शिक्षालय खोल्न दिने तर कस्तो शिक्षा र किन दिने भन्ने भरपर्दो र ब्यवहारिक उत्तर छैन । शिक्षा पढ्न पाउने हकको रुपमा मात्र बुझिन्छ । मेडिकल शिक्षा पनि केवल पढ्न पाउने हकमात्र होइन र सबैले पढ्न सक्ने विषय पनि होइन । तर पैसा भए जसले जसरी पनि सर्टिफिकेट लिन सक्ने जुन वातावरण बन्दै छ, जुन अभ्यास हुँदै छ, यो पक्कै पनि विवेकसम्मत अवधारणा होइन । मेडिकल शिक्षालाई केवल पढ्न पाउने हकको रुपमा मात्र बुझ्न हुँदैन र पढ्न पाउने हक शैक्षिक क्षमताको आधारमा हुन्छ, नकी पैसाको । पैसा मेडिकल शिक्षा पढ्ने पहिलो आधार बनाईदै छ, यो त्रुटीमा पनि महा त्रुटीपूर्ण हो भन्छन् डाक्टर राम थापा । मेडिकल शिक्षालाई नाफामुखी व्यापार र छाडापनको शिकारबाट रोक्न सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । कतै तपाई हामी, तपाई हाम्रै आफन्त, आमा, बा, छोरा, छोरी, श्रीमान, श्रीमती, इस्टमित्र कच्चा डाक्टरले गर्ने उपचारले मृत्युको मुखमा त पुग्दैछैनौ ? गुणस्तरीय डाक्टरी सेवा हाम्रो हक र राज्यले दिने सेवाबाट हामी अकारण बिमुख त बन्दै छैनौ ? हामी कसैको स्वास्थ्य कसैको खेलबाड र पैसा कमाउने भाँडो त बन्दै छैन ? स्वास्थ्य शिक्षा सस्तो, सर्वसुलभ भरपर्दो र गाउँ, ठाउँ, शहर, बजारमा पाउने हाम्रो हक कसैको मर्जी र निगाहको विषय होइन । यसको लागि न्यायको आवाजमा बल भरिदिन डाक्टर गोविन्द केसीहरुको सत्याग्रहलाई साथ दिन अन्तर आत्मालाई साक्षी राखी तयार बनौ । सत्य, न्याय र निष्ठाको ज्योतिलाई कुनै हालतमा निभ्न नदिने संकल्प गरौ । सत् र असतलाई छुट्याउने हाम्रो विवेक माथि न्याय गरौ । आज चर्को र महँगो पैसाको बलले पढ्ने मेडिकल विद्यार्थीले भोलि कस्तो सेवा हामीलाई उपलब्ध गराउलान् ?